म्यानपावर व्यवसायीहरुले कसरी फुत्काए टिकट ? पढ्नुहोस, टिकट पाउनेहरुका काण्डै काण्ड


 


काठमाडौं, कार्तिक १

हुँदा हुँदा नेपालीहरूले बेच्न बाँकी केही राखेनन् । वैदेशिक रोजगार व्यवसायको नाममा मानव बेचबिखन गर्दै आइरहेका यिनैले शीर्षस्थ नेताहरूलाई करोडांै करोड रकम सहयोगको आश्वासन देखाई टिकट फुत्काएको र टिकट हात पारेसँगै उल्टै थाङ्नोमा सुताएको देखिएकै हो । फेरि के आधारमा तिनैले दोहोराई,तेह्राई टिकट हात पार्दै छन् ?

अघिल्लोपटकको संविधानसभा निर्वाचनमा पार्टीलाई एक करोड आर्थिक सहयोगको प्रलोभन देखाएर झापा क्षेत्र नम्बर ५ बाट सर्वसम्मत उम्मेदवार त बने । तर, निर्वाचनमा केशवकुमार बुढाथोकीसँग झिनो मतान्तरले पराजय बेहोरे । उनले यसरी टिकट पाउनुको पनि रोचक किस्सा छ । टिकट पाएको खण्डमा एक करोड रूपैयाँ बुझाउने आश्वासन दिएका रहेछन् । टिकट त पाए तर न त कबोल गरेबराबरको रकम पार्टीले पायो न चुनाव नै जितियो ! एक करोडको कबोल पचास लाख हुँदै दश लाखमा टार्न खोजे । यसपटक समेत उनी सर्वसम्मत सिफारिस भएका छन् क्षेत्र नम्बर ४ बाट ।

अघिल्लो पटकको संविधानमा बैंकर र ठेकेदार सांसदहरूको ठेलमठेल भएझैं यसपटक म्यानपावर व्यवसायीको फूर्तिफार्ती बाक्लो छ । दलबाट सर्वसम्मत उम्मेदवार सिफारिस हुने एलपी एक्ला होइनन् । उनीजस्तै कांग्रेसी कोटामा वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्षहरू हंसराज बाग्ले, तिलक रानाभाट, विमल ढकाल, पूर्वमन्त्री टेकबहादुर गुरुङ, अब्दुल सतारदेखि कमल तमाङ, शीतल यादव, सीतादेवी देवकोटासहित दर्जनांै सर्वसम्मत उम्मेदवार बनेका छन् । गच्छदार कांग्रेसमा विलय भएका कारण अझै केही कांग्रेसनिकट म्यानपावर व्यवसायीको नाम थपिँदै छ ।

त्यस्तै, एमाले पार्टीबाट वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष बलबहादुर तामाङदेखि वर्तमान अध्यक्ष रोहन गुरुङ, हरि पाण्डे, मुक्तिनाथ अधिकारी, वाइवी राई, टेकबहादुर राउत, सुवर्णा श्रेष्ठ, ओम गुरुङ, तीर्थ काफ्ले, जयबहादुर शाही, एकेन्द्र कुँवरलगायत सिफारिस भएका छन् । माओवादीबाट पनि दर्जन हाराहारीका वैदेशिक रोजगार व्यवसायी प्रदेशतर्फको सिफारिसमा परेका छन् ।

यी म्यानपावरवालामार्फत कति गरिब नेपाली वैदेशिक रोजगारीमा पुग्छन् ? कतिको त्यहाँ बेहाल हुन्छ ? त्यसरी बेहाल हुँदा उनीहरूले त दुःख पाउँछन् नै पार्टीसमेत बदनामीमा मुछिन्छ कि मुछिँदैन ? यसतर्फ टिकट बाँड्नेहरूको ध्यान जानुपर्ने कि नपर्ने ?

कसको काण्ड के ?

टेकबहादुर गुरुङ मनाङबाट प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फको उम्मेदवार सिफारिस भएका छन् । उनी तिनै पात्र हुन्, जो कार्यान्वयन हुनै नसक्ने फ्री भिसा र टिकट प्रणाली नेपालमा लागू गराएर यताका कामदार रोकी बीसौं हजार बंगलादेशी कामदार खाडी मुलुकमा पठाउने धन्दामा लागेका व्यवसायी बताउँछन् । उनले बंगलादेशमा त्यहीँको वैदेशिक रोजगार व्यवसायीसँग सहकार्य गरी उतैबाट कामदार खाडी मुलुकमा पठाउने धन्दा अझै पनि चालु राखेको बुझिएको छ । यसैगरी, कांग्रेसबाटै श्रम मन्त्री हुँदा टेकबहादुरले नेपाली कामदारलाई अत्यधिक आर्थिक भार हुनेगरी वायोमेट्रिक्स प्रणाली थोपरेर नियमित कमिसनको व्यवस्था गरेका थिए । मनाङमा उनी भन्दा वरिष्ठ र प्रजातन्त्रका लागि पञ्चायतकालमै जेलनेल भोगेका कोमल घले स्वतन्त्र सेनानीकै रूपमा छन् । उनकै दाजु पाल्तेन गुरुङ पनि टेकबहादुरभन्दा निकै राजनीतिक मानिस हुन् । तर, यी दुवैलाई कांग्रेसले वास्ता गरेन ।

वैदेशिक रोजगार व्यवसायी एलपी साँवालाई एमालेले झापा ४ नम्बरबाट प्रतिनिधिसभाको प्रत्यक्षतर्फको उम्मेदवार बनेका छन् । खाडी मुलुकमा घरेलु महिला कामदारका रूपमा रहेका नेपाली दिदीबहिनीलाई लाखौंमा बेच्ने, किन्नेले मानवीय नभएर वस्तुलाई झैं व्यवहार गर्ने र गर्भवती भएर, बच्चा लिएर वा मानसिक असन्तुलनको अवस्थामा फर्कनुपर्ने अवस्था व्यापक छ ।

सरकारले महिलालाई घरेलुु कामदारका रूपमा नपठाउन निर्णय गरे पनि एलपीहरू भने उनीहरूलाई करोडौं आम्दानी हुने भएकाले जसरी पनि पठाउनुपर्छ भनी लागेका छन् । वैदेशिक रोजगार व्यवसायी संघको पूर्वअध्यक्षसमेत रहेका एलपीकै पहलमा घरेलु महिला कामदार सरोकार केन्द्र खोलिएको छ । यसको काम भने जसरी पनि हालकै अवस्थामा खाडीमा हाम्रा दिदीबहिनीलाई पु¥याएर बेचबिखन गर्न पाउनुपर्छ भन्ने हो । उनको नेतृत्वमा धेरैपटक जिल्ला प्रशासन कार्यालयमा महिला पठाउन र जान पाउनुपर्छ भनी धर्ना र जुलुस भइसकेका छन् ।

एमाले पार्टी अध्यक्ष केपी ओलीसँगै जेलजीवन बिताएका नरेश खरेलजस्ता पुराना वामपन्थी राजनीतिक व्यक्तित्वलाई बेवास्ता गरी एमालेले अनेक धन्दा गरी पैसावाल बनेका एलपीलाई प्रत्यक्षको टिकट दिने तयारी गरेको हो ।

जनआस्था साप्ताहिकका अनुसार नेपाली कांगे्रसले पोखरा–१ बाट तारानाथ रानाभाट, हालका कानुनमन्त्री यज्ञ बहादुर थापालाई चुनौती खडा गर्दै त्यहीँबाट अर्का मेनपावर व्यवसायी तिलक रानाभाटलाई प्रत्यक्षतर्फ अघि बढाएको छ ।

यज्ञबहादुर पार्टी सभापति र जिविस उपसभापति पनि भइसकेको मानिस हुन् । त्यतिबेला तिलक विदेश पठाउने मानिस खोज्दै घरदैलो गर्थे । महासंघका अध्यक्ष भइसकेका बलबहादुर तामाङ र हंसराज वाग्लेललाई पनि एमाले र कांग्रेसले प्रदेशमा टिकटका लागि सिफरिस गरेका छन् । राजश्व हिनामिना गरेको आरोपमा राजश्व अनुसन्धान विभागले बलबहादुरको कार्यालयमा छापा मारी सबै कम्प्युटर र कागतपत्र सिलबन्दी गरेको छ ।

यिनी एमालेबाट ताप्लेजुङमा प्रदेशसभाका लागि उम्मेदवार बन्न लागेका हुन् । ओखलढुंगाबाट प्रदेशसभामै उम्मेदवारमा परेका हंसराजले महासंघको अध्यक्ष हुँदा नेपाली कामदारलाई आर्थिक शोषण गर्ने बायोमेट्रिक्स प्रणाली लागू गर्न अन्तर्राष्ट्रिय गिरोहसँग मिली करोडौं कमिसन लिएका व्यवसायी नै बताउँछन् ।

प्रकाशित मिति: १ कार्तिक २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्