प्रमुख आयुक्त यादवको १७ बुँदे सम्बोधन : भन्छन्-निर्वाचन हुनेमा ढुक्क हुनुस् कतैबाट रोकिँदैन


 


काठमाडौं, कार्तिक १

प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले तोकिएको समयमै निर्वाचन हुनेमा ढुक्क हुन र अब कहीबाट पनि निर्वाचन नरोकिने बताएका छन् ।

प्रमुख आयुक्त यादवले धबार निर्वाचन आयोगमा आयोजित विशेष पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै आगामी मंसिर १० र २१ गते निर्वाचनका लागि राजनीतिक दलहरूले उत्साहका साथ समानुपातिक उमेदवारको सूची बुझाइसकेको अवस्थामा निर्वाचन सुनिश्चित भएको बताएका हुन् ।

उनले समानुपातिकको मनोनयन उत्साहका साथ सम्पन्न भएको र कार्तिक ५ मा हुने मनोनयमा उत्साहका साथ सहभागी हुन सबैलाई अग्रह गरेका छन् ।
यादवले आगामी निर्वाचनमा दलहरूले आचारसंहिता पालना गर्नेमा आफू ढुक्क रहेको बताउँदै स्थानीय तहमा जस्तै सबैको सामुहिक प्रयासमा यो निर्वाचनमा सम्पन्न हुने बताए ।

प्रमुख निर्वाचन आयुक्त यादवले बुधबारको पत्रकार सम्मेलनमा गरेको विशेष सम्बोधनको १७ बुँदे पूर्ण पाठ यस्तो छ ।

मतदाता आमा–बुबा, दिदी–बिहिनी तथा दाजु–भाइहरू

१. संविधानसभाबाट जारी भएको ‘नेपालको संविधान’ कार्यान्वयनको पहिलो खुड्किलाको रूपमा निर्वाचन अयोगले ७५३ वटा स्थानीय तहको निर्वाचन तीन चरणमा सम्पन्न गरिसकेको व्यहोरा यहाँहरुलाई विदितै छ । नेपाल सरकारद्वारा प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा प्रतिनिधिसभा सदस्य निर्वाचन तथा प्रदेशसभा सदस्य निर्वाचनको तयारीलाई आयोगले तीव्ररूपमा अगाडि बढाइसकेको छ । यसैक्रममा गत असोज २९ गते ठूलो उत्साहका साथ राजनीतिक दलहरुले समानुपातिकतर्फको उम्मेदवारहरूको बन्दसूची बुझाउनुभएको छ । यसबाट मंसिरको १० र २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन व्यापक सहभागिता तथा उत्साहका साथ सम्पन्न हुने सुनिश्चित भएको छ । तोकिएकै मितिमा निर्वाचन हुने विषयमा समस्त मतदाता महानुभावहरुलाई ढुक्क रहन आयोग अनुरोध गर्दछ ।

२. प्रतिनिधिसभाको समानुपातिकतर्फ ११० पद तथा सात प्रदेशका समानुपातिकतर्फ २२० पदका लागि उम्मेदवारको बन्दसूची पेश गर्दा दलहरुले समानुपातिक तथा समावेशी सिद्धान्तलाई पालना गर्नुभएको छ भन्ने आयोगले विश्वास लिएको छ । दलहरुले आयोगमा पेश गरेका उम्मेदवाहरुको बन्दसूचीलाई असोज ३० गते देखि कात्तिक ५ गतेसम्म निर्वाचन अधिकृतको कार्यालयमा जाँचबुझ गर्ने कार्यक्रम अनुसार जाँचबुझको कार्य भइरहेको छ । कानुनी व्यवस्था अनुसार उम्मेदवारको बन्दसूची समानुपातिक प्रतिनिधित्व र समावेशी सिद्धान्तका आधारमा तयार भए नभएको वा अन्य रीत पुगे नपुगेको एकीन गरी रीत पुगेको नपाइएमा सम्बन्धित दललाई बन्दसूची सच्याउन आयोगले दलहरुलाई आग्रह गरिरहेको छ । आयोगले सूचित गरेबमोजिम सम्बन्धित राजनीतिक दलहरूले कात्तिक ६ देखि १२ गतेसम्म उम्मेवारको बन्दसूची सच्याई आयोगमा पेश गर्नुपर्ने व्यवस्था रहेको हुँदा सोहीबमोजिम गर्नु हुन आयोग सबै राजनीतिक दलहरुसँग आग्रह गर्दछ ।

३. आगामी मंसिर १० गते पहिलो चरणमा ३२ जिल्लामा प्रतिनिधिसभा सदस्यतर्फ ३७ निर्वाचन क्षेत्र र प्रदेशसभातर्फ ७४ वटा निर्वाचन क्षेत्रमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अनुसार यही कात्तिक ५ गते उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यक्रम रहेको छ । ती जिल्लाका सदरमुकाममा असोज २९ गते नै मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेको छ । तसर्थ, प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनका लागि २०७४ कात्तिक ५ गते आइतबार बिहान १० देखि अपरान्ह ५ बजेसम्म आ–आफ्नो निर्वाचन क्षेत्रको निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ताका लागि सबै राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरूलाई निर्वाचन आयोग हार्दिक आह्वान गर्दछ ।

४. निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र विश्वसनीय वातावरणमा सम्पन्न गर्न सबै सरोकारवालाबाट पूर्ण सहयोग हुनेमा आयोग ढुक्क रहेको छ । नेपालको राजनीतिक इतिहासमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि दुईवटा निर्वाचन एकै पटक हुन लागेको यो पहिलो पटक हो । यस अवसरमा नेपाली जनताको ठूलो त्याग र बलिदानबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्ने क्रममा संविधानसभाबाट जारी नेपालको संविधानले अङ्गीकार गरेको संघीय संरचनालाई कार्यान्वयनमा ल्याउने अभियानमा निर्वाचन आयोग दृढतापूर्वक अगाडि बढिरहेको व्यहोरा जानकारी गराउन चाहन्छु ।

आदरणीय मतदाता आमा–बुबा, दिदी–बिहिनी तथा दाजु–भाइहरू

५. प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि निर्वाचन आयोगले २०७४ भदौ १४ गतेबाट निर्वाचन आचारसंहिता लागू गरिसकेको विदितै छ । राजनीतिक दलहरुले समानुपातिकतर्फ उम्मेदवारहरुको बन्दसूची पेश गरेपछि निर्वाचन आचारसंहिता उम्मेदवारको हकमा समेत लागू भइसकेको छ । अब कात्तिक ५ गते पहिलो चरणको प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता भएपछि पहिलो हुने निर्वाचित हुनेतर्फ मनोनयन पेश गर्ने उम्मेदवारका लागि समेत निर्वाचन आचारसंहिता लागू हुने भएको हुँदा सबै राजनीतिक दल, उम्मेदवार तथा अन्य सरोकारवालाहरुलाई निर्वाचन आचारसंहिताको पूर्ण पालना गरी असल राजनीतिक संस्कारको विकासमा योगदान पु¥याउन निर्वाचन आयोग हार्दिक अपिल गर्दछ ।

६. निर्वाचन सम्पन्न गराउन आयोगले यसअघि व्यवस्थापन गरिएका मतपेटिकाबाट नै निर्वाचन गराउने तयारी गरेको छ भने विभिन्न प्रकारका निर्वाचन सामग्रीको व्यवस्थापन प्रक्रियालाई अगाडि बढाइसकेको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि आवश्यक पर्ने सात प्रकारका मतपत्रको छपाइ यही २०७४ असोज १७ देखि जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा भइरहेको जानकारी गराउँछु । समानुपातिकतर्फ एक करोड ८० लाख मतपत्र छपाइ गर्नुपर्नेमा आजसम्म ९० लाखभन्दा बढी मतपत्र छपाइ भइसकेको छ । सम्पूर्ण मतपत्र कात्तिक ७ गतेसम्म छापिसक्ने कार्यक्रम छ । कात्तिक ८ गतेबाट पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्पmका मतपत्रहरुको छपाइ कार्य आरम्भ हुने जानकारी गराउँछु ।

७. आयोगले निर्णय गरेअनुसार, समानुपातिक तथा पहिलो हुने निर्वाचित हुनेतर्फको मतपत्र एउटै पानाको माथिल्लो भाग मतपत्र १ प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि र त्यसको तल्लो भागमा मतपत्र २ प्रदेशसभा सदस्य निर्वाचनका लागि हुने व्यवस्था गरिएको छ । समानुपातिकतर्फको मतपत्र सेतो कागजमा हल्का रातो मसीले छापिने छ भने पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फको मतपत्र सेतो कागजमा हल्का हरियो रङ्गको मसीले छापिने गरी मतपत्रको व्यवस्था गरिएको छ ।

८. निर्वाचन आयोगको एक्लो प्रयासबाट मात्र निर्वाचन सम्पन्न गराउन कठिनाइ हुने भएको हुँदा निर्वाचनलाई सफल बनाउन हामी सम्पूर्ण नेपालीहरू सक्रिय भएर लाग्नु अपरिहार्य भएको छ । यसमा नेपाल सरकार, राजनीतिक दल, उम्मेदवार, नागरिक समाज, आमसञ्चारकर्मी, बुद्धिजीवी, निजामती प्रशासन, सुरक्षा निकाय, संवैधानिक अङ्ग, आम मतदातालगायत सबैको साथ, सहयोग र विश्वास हामीलाई आवश्यक पर्छ । त्यसैगरी, अन्तर्राष्ट्रिय समुदाय, छिमेकी मित्रराष्ट्रहरु र विकासका साझेदार संघ संस्थाहरु सबैको सद्भाव एवं सहयोगको अपेक्षा समेत आयोगले गरेको छ । संविधान कार्यान्वयन गर्ने क्रममा हुन लागेका ऐतिहासिक निर्वाचनलाई सफल बनाउने अभियानमा जुट्न आयोग सम्बद्ध सरकोकारवालासँग हार्दिक आग्रह गर्दछ । निर्वाचन सञ्चालन गर्नका लागि आवश्यक पर्ने सम्पूर्ण बजेट नेपाल सरकारले उपलब्ध गराउने व्यवस्था मिलाइएको छ । साविकदेखि सहयोग पु¥याइरहेका अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाबाट तालिमका लागि आवश्यक पर्ने व्यवस्थापकीय सहयोग रहेको व्यहोरासमेत जानकारी गराउन चाहन्छु ।

९. आयोगले मतदाता नामावलीलाई २०७४ असोज १७ गते अन्तिमरूप दिइसकेकोे छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि कूल मतदाता संख्या १ करोड ५४ लाख २७ हजार ७३१ कायम भएको छ । २०७४ भदौ ५ गतेसम्म १८ वर्ष उमेर पुगेका र फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका मतदाताहरूको नाम उक्त मतदाता नामावलीमा समावेश गरिएको छ । पहिलो चरणको निर्वाचनमा ३२ लाख २८ हजार ८७९ जना मतदाताले मताधिकारको प्रयोग गर्नुहुने छ । पहिलो चरणका लागि आवश्यक पर्ने मतदाता नामावली छपाइ गरी सम्बन्धित जिल्लामा पठाइसकिएको छ ।

१०. मतदाता नामावली ऐन २०७३ अनुसार मतदानका लागि मतदाता परिचयपत्र अनिवार्य भएको हुँदा नयाँ थपिएका मतदाताको लागि परिचयपत्र छपाइ गरी वितरण गरिने छ ।

११. स्थानीय तह निर्वाचनको अनुभवलाई समेत ध्यानमा राखी मतदाता शिक्षालाई अझ बढी प्रभावकारी बनाउन आयोगले तयारी गरिसकेकोे छ । मतदाता शिक्षालाई प्रभावकारी बनाउने आयोगको नीतिअनुसार, तालिमप्राप्त मतदाता शिक्षा कार्यकर्ता घरघरमा पुग्ने व्यवस्था गरिएको छ । यसका लागि एक मतदान केन्द्र एक मतदाता शिक्षा कार्यकर्ताको हिसाबले करिब २० हजार मतदाता शिक्षा कार्यकर्ता परिचालन गरिने छ । मतदाता शिक्षाका क्रममा यस पटक बढीभन्दा बढी नमुना मतदान गराउने आयोगको नीति रहेको छ । नमूना मतदानको लागि समानुपातिक तर्फको रातो रङको र पहिलो हुने निर्वाचित हुने तर्फको हल्का हरियो रङमा नमूना निर्वाचन चिन्हहरु राखिएको नमूना मतपत्र छपाई गरी निर्वाचन शिक्षा कार्यक्रममा प्रयोग गर्न जिल्ला जिल्लामा पठाइ सकिएको छ । मतदाता शिक्षालाई प्रभावकारी बनाउन आयोगले आमसञ्चार माध्यम र राजनीतिक दल, उम्मेदवार, कार्यकर्ता तथा निर्वाचनसँग सरोकार राख्ने सबैबाट सकारात्मक सहयोगको अपेक्षा गरेको छ । मतदाता शिक्षाका लागि आवश्यक पर्ने सबै प्रकारका सामग्रीहरूको उत्पादन गर्ने कार्य सुरू भइसकेको र नेपालमा बोलिने राष्ट्रभाषाहरुमध्ये विभिन्न १६ राष्ट्रभाषामा मतदाता शिक्षा सामग्री तयारी गर्न आयोगले प्रक्रिया अगाडि बढाइसकेको व्यहोरा समेत जानकारी गराउन चाहन्छु ।

१२. आयोगले निर्वाचनका लागि आठ प्रकारका तालिम सञ्चालन सुरु गरिसकेको छ जस अनुसार निर्वाचन र सञ्चार, मतदाता शिक्षा, निर्वाचन सामग्री तथा लेखा व्यवस्थापन, निर्वाचन सञ्चालन तथा व्यवस्थापन, निर्वाचन र प्रविधि व्यवस्थापन, निर्वाचन र सुरक्षा व्यवस्थापन, मतदान र मतगणना तथा राजनीतिक दलसँग सम्बद्ध युवाहरुका लागि प्रशिक्षण दिइने छ ।

१३. प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई आवश्यक पर्ने ऐन व्यवस्थापिका–संसद्बाट पारित भई आयोगमा प्राप्त भइसकेका छन् । ऐन अनुसार, आयोगले तयार गर्नु पर्ने नियमावलीहरु, निर्देशिकाहरु तथा कार्यविधिहरू तयार गरी आयोगले स्वीकृत गरिसकेको छ ।

१४. प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा आवश्यक पर्ने सबै सुरक्षा व्यवस्था नेपाल सरकारले मिलाउने प्रतिबद्धता व्यक्त गरिसकेको छ । निर्वाचन आयोगका पदाधिकारी, कर्मचारी, निर्वाचनमा खटिने कर्मचारी, मतदानमा प्रयोग हुने सामग्रीहरूको सुरक्षा, ढुवानी व्यवस्थापन, मतपत्र तथा मतदान स्थलको सुरक्षा, मतदाताको सुरक्षा, राजनीतिक दलको कार्यालय, उम्मेदवार यी सबैको भरपर्दो सुरक्षा प्रबन्ध नेपाल सरकारबाट हुनेमा आयोग विश्वस्त छ ।

१५ प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको पर्यवेक्षणका लागि आयोगले अन्तर्राष्ट्रिय संघ, संस्था र व्यक्तिलाई आवेदन दिन सूचना जारी गरिसकेको छ । जसअनुसार आजसम्म ४ वटा अन्तर्राष्ट्रिय संघ संस्थाबाट सहभागिताका लागि आवेदन प्राप्त भएको छ भने दुई अन्तरर्राष्ट्रिय व्यक्तिबाट पर्यवेक्षणका लागि आवेदन प्राप्त भएको छ । आयोगले सार्क मुलुकलगायत अन्य निर्वाचन व्यवस्थापन निकायका प्रमुख तथा प्रतिनिधिहरुलाई समेत आमन्त्रण गर्ने निर्णयसमेत भइसकेको छ । साथै, आयोगले राष्ट्रिय पर्यवेक्षकहरूलाई समेत पर्यवेक्षणका लागि अनुरोध गर्ने नीति अगाडि सारेको छ ।

१६. आयोगले मङ्सिरमा हुने निर्वाचनको लागि १० हजार ६७१ निर्वाचन स्थलमा १९ हजार ८०९ वटा मतदान केन्द्र कायम गर्ने निर्णय गरेको छ ।

आदरणीय मतदाता आमा–बुबा, दिदी–बिहिनी तथा दाजु–भाइहरू

१७. नेपालको संविधानले दिएको जिम्मेवारी पूरा गर्न आयोग दृढताका साथ अगाडि बढिरहेको र त्यसै अनुरूप आसन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको निर्वाचन गर्न सम्पूर्ण तयारी पूरा गर्ने गरी आयोग अहोरात्र खटिरहेको छ । निर्वाचन कार्यक्रमअनुसार असोज २९ गते समानुपातिक निर्वाचन प्रणालीतर्फको उम्मेदवारीको बन्दसूची पेश भई अब हामी निर्वाचनको अन्तिम चरणमा प्रवेश गरिसकेका छौं । पहिलो चरणको निर्वाचन हुने ३२ जिल्लाहरुमा कात्तिक ५ गते पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फको उम्मेदवारीको मनोनयन दर्ताको कार्यक्रम रहेको हुँदा सो कार्यक्रमसमेत शान्तिपूर्ण एवं उत्साहजनकरुपमा सहभागी हुन सबै राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरुलाई आयोग पुनः हार्दिक आह्वान गर्दछ ।

आदरणीय पत्रकारज्यूहरू,
आयोगको तयारीका सम्बन्धमा जानकारी उपलब्ध गराउन आयोगको निमन्त्रणालाई स्वीकार गरी आउनुभएकोमा सम्पूर्ण मिडियाकर्मी मित्रहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छु । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र विश्वसनीय बनाउन सूचना तथा सन्देश सम्प्रेषण तथा प्रवाह गरेर लोकतान्त्रिक संघीय गणतन्त्रलाई संस्थागत गर्ने अभियानमा यहाँहरुले पु¥याउनु भएको योगदानको उच्च कदर गर्र्दै आगामी दिनमा पनि यहाँहरुबाट सत्य तथ्य र यथार्थपरक समाचारको सम्प्रेषण हुनेछ भन्ने आयोगले पूर्ण विश्वास लिएको छ । धन्यवाद ।

प्रकाशित मिति: १ कार्तिक २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्