चुनावी टिकट लिन बालुवाटारमा भारतीय गाडीसहित लस्कर !


 


काठमाडौ‌ंं, कार्तिक १६

प्रदेश र प्रतिनिधिसभाका लागि कांग्रेसबाट टिकट लिन तराई मधेसका नेताहरू भारतीय नम्बर प्लेटका आधा दर्जन गाडीसहित प्रधानमन्त्रीनिवास बालुवाटार पुगेका छन् ।

कोही आफन्तको र त कोही भाडामा भारतीय नम्बर प्लेटका गाडी लिएर पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारीनिवास बालुवाटार पुगेका हुन् ।

सप्तरीका कांग्रेस सभापति दिनेश यादव, सर्लाहीस्थित मलंगवाका मेयर निश्चल साह आफूनिकटका नेतालाई उम्मेदवार बनाउन भारतीय गाडीमा कांग्रेसको झन्डासहित बालुवाटार छिरेका थिए ।

कांग्रेस केन्द्रीय सदस्य फरमुल्लाह मन्सुरले निर्वाचनका लागि दिनको दुई हजार पाँच सय रुपैयाँमा भारतीय गाडी भाडामा लिएका छन् । उनले भाडामा लिएको गाडी पनि नेता बोकेर बालुवाटारमा आएको थियो ।

यो खबर आजको नयाँ पत्रिकाले लेखेको छ, तराई मधेका नेताहरूका स्र्कोपियो, टाटासहितका ५–६ वटा गाडी बुधबार बालुवाटारमा देखिए । आफूनिकटका नेताको उम्मेदवारी टुंगो लागेपछि नेतालाई बोकेर जिल्ला पुग्ने र निर्वाचनभर प्रचारमा पनि प्रयोग हुने सम्बन्धित गाडीका चालकहरू बताउँछन् ।

‘निर्वाचनका लागि भनेर कसैले भारतीय आफन्त र कसैले भाडामा गाडी ल्याएका छन्,’ भारतीय नम्बर प्लेटको गाडीका चालक विजयकुमार कुसवाहले भने, ‘निर्वाचनभर भारतीय गाडी प्रयोग गर्ने भनेर ल्याइएको छ ।’

बालुवाटारमा बिहानदेखि रातिसम्मै भिड
आफूनिकटका नेतालाई टिकट दिलाउन तराई मधेसबाट सयौँको संख्यामा नेता–कार्यकर्ता बालुवाटार आएका थिए । बालुवाटारमा बिहानदेखि मध्यरातसम्मै भिड लागेको थियो । आफूनिकटको नेताले टिकट पाएको खुसियाली मनाउन र हेर्नका लागि बालुवाटारमा सयौँको भिड लागेको थियो ।


बालुवाटारमा टिकट पाएपछि डडेल्धुरा कांग्रेस सभापति कर्ण मल्ल गलाधारी मालासहित बालुवाटारमा देखिए । डडेल्धुरा ‘ख’बाट उनले प्रदेश सभामा टिकट पाएका छन् । टिकट पाउँदा नै उनी विजयी भएको शैलीमा माला र खादासहित नेता–कार्यकर्ताको भिडमा देखिए । टिकट पाएका अन्य नेताहरू पनि खादासहित प्रफुल्ल भएर मिडियालाई टिकट देखाउँदै बाहिरिएका थिए ।

टिकट नपाउनेहरू निराश, टाटासुमोको टिकटको जोक

आफूनिकटका नेताले टिकट नपाउँदा केही नेता–कार्यकर्ता निराश बनेका थिए । कतिपय त पार्टीले आफूहरूले आशा गरेको नेतालाई टिकट नदिइएपछि अब गाडीको टिकट काटेर जिल्ला फर्किने भन्दै बालुवाटार प्रांगणमा रमाइलो गरिरहेका देखिन्थे ।

मीन विश्वकर्मा प्रत्यक्षमा पनि उम्मेदवार

कांग्रेसबाट समानुपातिक सूचीमा परेका मीन विश्वकर्मा प्रत्यक्षतर्फका पनि उम्मेदवार बनेका छन् । निर्वाचन आयोगमा बुझाइएको बन्द सूचीमा विश्वकर्माको नाम छ । तालमेलमा संघीय समाजवादी फोरमका अशोक राईलाई सुनसरी १ बाट टिकट दिने तयारी कांग्रेसको थियो । तर, तालमेलको सम्भावना कम हुँदै गएपछि कांग्रेसले पुनः विश्वकर्मालाई उम्मेदवार बनाएको हो ।

प्रकाशित मिति: १६ कार्तिक २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्