दोस्रो चरणको निर्वाचनका लागि प्रतिनिधिसभको १२८ र प्रदेशसभाको २५६ पदका लागि आज मनोनयन


 


काठमाडौं, कार्तिक १६

दोस्रो चरणअन्तर्गत मंसिर २१ गते हुने निर्वाचनमा ४५ जिल्लाका १२८ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा आज (बिहीबार) मनोनयन दर्ता हुँदैछ ।

निर्वाचन आयोगले प्रतिनिधिसभाका १२८ वटा निर्वाचन कार्यालयबाटै प्रदेशसभाको २५६ प्रतिनिधिको मनोनयन दर्ता गर्दैछन् । बुधबार रातिसम्म उमेदवारी टुंग्याएका पार्टीहरू उमेदवारी दर्ता गराउन जिल्ला पुगेका छन् ।

डडेलधुराबाट उमेदवारी दिन प्रधानमन्त्री शेरबहादुर देउवा आज बिहानै जिल्लातर्फ लागेका छन् ।

त्यस्तै, एमाले अध्यक्ष केपी शर्मा ओलीले झापा ५ बाट, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल चितवन ३ बाट, तनहुँ १ बाट रामचन्द्र पौडेल, काठमाडौं २ बाट एमाले नेता माधवकुमार नेपाल, इलाम १ बाट झलनाथ खनाल र इलाम दुईबाट पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ इलाम २ बाट उमेदवार बन्ने भएका छन् । त्यसैगरी, झापा ३ बाट कांग्रेस नेता कृष्णप्रसाद सिटौला, काठमाडौं १ बाट प्रकाशमान सिंह, एमाले उपाध्यक्ष बामदेव गौतम बर्दिया ३, अर्का उपाध्यक्ष भीम रावल क्षेत्र नं १, एमाले महासचिव ईश्वर पोखरेल काठमाडौं ५ बाट उमेदवार बन्दै छन् । यता माओवादी प्रवक्ता पम्फा भूषाल ललितपुर १ बाट उमेदवार बन्दै छन् भने नेता कृष्णबहादुर महरा दाङ क्षेत्र नं ३ बाट उमेदवार बन्ने भएका छन् ।

“४५ जिल्लामा प्रतिनिधिसभा सदस्यतर्फ १२८ निर्वाचन क्षेत्र र प्रदेशसभातर्फ २५६ वटा निर्वाचन क्षेत्रमा उमेदवारहरुले मनोनयन दर्ता गर्दै हुनुहुन्छ र त्यसका लागि सम्पूर्ण आवश्यक तयारी पूरा भइसकेको जानकारी गराउन चाहन्छु ,” प्रमुख आयुक्त डा. अयोधिप्रसाद यादवले बुधबार भने, “पहिलो चरणको जस्तै दोस्रो चरणको उम्मेदवारी मनोनयन दर्ता शान्तिपूर्ण तरिकाबाट सम्पन्न हुनेमा आयोग विश्वस्त रहेको छ ।”

उनले मनोनयन दर्ता कार्यक्रममा विभिन्न पार्टी प्रमुख तथा उच्च पदाधिकारीले पहिलो हुने निर्वाचित प्रणालीतर्फ उमेदवारी मनोनयन गर्ने भएकाले उच्च सुरक्षा व्यवस्था मिलाएको बताएका छन् । साथै सबै मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारीहरुले मनोनयन दर्ता कार्यक्रमलाई व्यवस्थित, मर्यादित र भयरहित ढङ्गले अघि बढाउन समयमै आवश्यक पहल गर्नु नै हुने छ भन्ने विश्वास आयोगले लिएको उनले बताए । यावदले आयोगद्वारा जारी आचारसंहिताको सबैबाट पूर्ण पालना हुने विश्वास आयोगले लिएको बताए ।

“कहीँ कतैबाट आचारसंहिता उल्लंघन भएमा आवश्यक कारबाही गर्न ७७ जिल्लामा मुख्य निर्वाचन अधिकृत÷निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारीलगायतलाई आवश्यक निर्देशन दिइसकेको छ,” उनले भने ।

प्रकाशित मिति: १६ कार्तिक २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्