साविक विजेता वायर्न म्युनिखको डर्टमण्डमाथि सहज जित


 


काठमाडाै‌, कार्तिक १९

जर्मन बुन्डेस लिगा फुटबलमा साबिकको बिजेता वायर्न म्युनिखले बोरुसिया डर्टमण्डलाई उसैको घरेलु मैदानमा पराजित गरेको छ । लिग अन्तर्गत शनिबार राति भएको खेलमा वायर्नले डर्टमण्डलाई ३ – १ ले पराजित गरेको हो ।

वायर्नको जितमा आर्जेन रोबिन, रोबर्टो लेवान्डोस्की र डेभिड अल्बाले समान एक एक गोल गरे । डर्टमण्डका मार्क बाट्राले एक गोल फर्काए । जितसँगै लिग लिडर वायर्नले लिगमा दोस्रो स्थानको लिपजिङमाथि ४ अंकको अग्रता कायम राखेको छ । शनिबार राति नै लिपजिङले ह्यानओभरमाथि २ – १ को जित निकालेको थियो ।

खेलको १७ औं मिनेटमा रोबिनले गोल गर्दै वायर्नलाई सुरुवाती अग्रता दिलाए । खेलको ३७ औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै वायर्नलाई २ – ० को अग्रता दिलाए ।

पहिलो हाफमा २ – ० को अग्रता बनाएको वायर्नले दोस्रो हाफमा थप एक गोल गर्यो । खेलको ६७ औं मिनेटमा अल्बाले गोल गर्दै वायर्नको अग्रता तेब्बर बनाए । खेलको ८८ औं मिनेटमा डर्टमण्डका मार्कले एक गोल फर्काएपछि खेल ३ – १ मा पुग्यो । त्यसपछि दुवै टोलीले थप गोल गर्न सकेनन र खेल वायर्नले ३ – १ ले आफ्नो बनायो ।

यो जितपछि वायर्नले ११ खेलबाट २६ अंक जोडेको छ । पराजित डर्टमण्ड २० अंक सहित लिगको तेस्रो स्थानमा छ । बुन्डेस लिगको दोस्रो स्थानको लिपजिङको २२ अंक छ । चौथो स्थानमा रहेको शाल्केको २० अंक छ । – एजेन्सी

प्रकाशित मिति: १९ कार्तिक २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्