ओलीको प्रश्न-कांग्रेससँग प्रतिवाद गर्ने अरू केही एजेन्डा छैन ?


 


काठमाडौ‌, कार्तिक २८

एमाले अध्यक्ष केपी ओलीले झूटा कुरा गरेर भ्रमको खेती नगर्न सत्तारूढ दल कांग्रेसलाई आग्रह गरेका छन् । पछिल्लो समय कांग्रेसले लगाएको वाम गठबन्धन लोकतन्त्र धरापमा पार्न लागिपरेको आरोपको प्रतिवाद गर्दै ओलीले लोकतन्त्रको प्रमाणपत्र सानेपा (कांग्रेस मुख्यालय)बाट लिनु नपर्ने व्यंग्य गरे ।

‘हामी लोकतन्त्रवादी हौं भनेर सानेपाले आईएसओ प्रमाणित गर्नुपर्ने, चिह्न दिनुपर्ने होइन,’ काठमाडौंका उम्मेदवारहरूको परिचयात्मक कार्यक्रममा ओलीले प्रश्न गरे, ‘कांग्रेससँग प्रतिवाद गर्ने अरू केही एजेन्डा छैन ?’ उनले भ्रमको खेती नगर्न कांग्रेसलाई चेतावनीसमेत दिए ।

आफूहरूले कम्युनिस्ट सरकार बनाउन लागेकामा दुईमत नरहेको उनले बताए । मंगलबारै आफ्नो चुनाव क्षेत्र झापाबाट फर्केका ओलीले वर्तमान सरकारका गतिविधि र कांग्रेसको चुनावी अभियानप्रति कटाक्ष गरेका थिए ।

वाम गठबन्धनले जिते साम्यवाद आउने र अधिनायकवाद लाद्ने भन्ने प्रधानमन्त्री शेरबहादुर देउवाको भनाइप्रति लक्षित गर्दै ओलीले भने, ‘साम्यवाद आफैंमा सुन्दर परिकल्पना हो तर त्यसमा पुग्न सम्भव छैन । साम्यवाद नराम्रो व्यवस्था होइन । सबै सुखी हुने, केहीको अभाव नहुने परिकल्पना साम्यवादले गर्छ । त्यो पूर्ण लोकतान्त्रिक हुन्छ,’ उनले भने ।

देउवा नेतृत्वको सरकार र विप्लव समूहले एकै प्रकृतिको काम गरिरहेको आरोपसमेत उनले लगाए । भनेजति चन्दा नपाएपछि सरकारले बूढीगण्डकी जलविद्युत् आयोजनाको चिनियासँगको ठेक्का रद्द गरेको आरोप उनले लगाए । ‘सरकार चुनावी खर्च नपाएपछि ठेक्का रद्द गर्छ, विप्लव समूह जबर्जस्ती चन्दा माग्ने, बम पडकाउँदै हिँड्ने गर्छ । सरकारले तिनलाई कारबाही पनि गर्दैन,’ ओलीले भने ।

एक अर्को प्रसंगमा ओलीले बूढीगण्डकी जलविद्युत् आयोजना बनाउन चिनियाँ कम्पनी गेजुवा ग्रुपसँग भएको सम्झौता कांग्रेसले चुनाव खर्च उठाउन खारेज गरेको आरोप लगाएका छन् ।

काठमाडौंमा वाम गठबन्धनतर्फबाट प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारहरुको परिचयात्मक कार्यक्रमलाई मंगलबार सम्बोधन गर्दै उनले अर्को कम्पनीसँग कमिसन लिइ सम्झौता गर्न कांग्रेस नेतृत्वको सरकारले बूढीगण्डकी जलविद्युत् आयोजनाको सम्झौता खारेज गरेको दाबी गरे ।

तस्बिर : रासस

प्रकाशित मिति: २८ कार्तिक २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्