विज्ञान प्रदर्शनीमा आविष्कारको आकर्षण


 


दमक, पुस २८
दमकको हिमालय माध्यमिक विद्यालयमा दुई दिनसम्म चलेको विज्ञान तथा वातावरण प्रदर्शनीमा विभिन्न आविष्कार सामग्रीको आकर्षण रहेको पाइएको छ ।

प्रदर्शनीमा पछिल्लो समय प्रयोगमा ल्याएका विभिन्न प्रकारका आविष्कार विशेषगरी रोबोट, ड्रोन र विद्युतीय सेन्सर प्रविधि जडित सामग्री नमूनाका रुपमा विद्यार्थीले प्रदर्शन गरेका थिए ।

बिहीबार सम्पन्न भएको विज्ञान वातावरण प्रदर्शनी तथा प्रतियोगितामा विभिन्न विद्यालयका १० हजार विद्यार्थीले अवलोकन गरेको आयोजक संस्था विद्यालयको इको बाल क्लबले जनाएको छ ।

प्रधानाध्यापक विष्णुकान्त झाले पहिलोपटक आयोजना गरिएको यस प्रदर्शनी तथा प्रतियोगिता व्यावहारिक रुपमा सफल भएको बताउनुभयो ।

“दुई दिनमा १० हजारभन्दा धेरैले प्रदर्शनीको अवलोकन गरेका छन्”, प्रअ झाले भन्नुभयो । प्रदर्शनी सहितको प्रतियोगिताले बिद्यार्थीले आफूले सिकेको ज्ञानको प्रवद्र्धन गर्ने मौका पाएको प्रअ झाले बताउनुभयो ।

प्रदर्शनीमा जिल्लाभरिका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीले बनाएका विज्ञान र वातावरणसँग सम्बन्धित सामग्री राखिएको थियो ।

प्रतियोगितामा कन्काई नगरपालिकास्थित कन्काई मावि प्रथम, दमकको सूर्योदय बोर्डिङ स्कुल द्वितीय र दमककै पाणिनी मावि तृतीय भए ।

प्रकाशित मिति: २८ पुस २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्