श्रीलङ्कामा दङ्गा फैलिएपछि राष्ट्रव्यापी सङ्कटकालको घोषणा


 


कोलोम्बो, फागुन २३

श्रीलङ्कामा मुसलमानविरुद्ध शुरु भएको दङ्गामा परी दुई व्यक्तिको मृत्यु भएपछि मङ्गलबार राष्ट्रव्यापी रूपमा सङ्कटकालको घोषणा गरिएको छ ।

पर्यटकका लागि प्रख्यात पहाडी इलाकामा रहेको घरहरूमा भएको आगजनीका कारण दुई व्यक्तिको मृत्यु भएको थियो । बौद्ध धर्मावलम्बीहरूको बलियो प्रभाव रहेको शहर कान्डीका मुसलमानहरूविरुद्ध दङ्गा शुरु भएपछि प्रहरीलेसमेत नियन्त्रण गर्न नसकेको बताइएको छ ।

कान्डी शहरमा ठूलो संख्यामा सशस्त्र प्रहरी कमाण्डोहरू तैनाथ गरिएको र रातभरीका लागि क्फ्यु आदेश जारी गरिएको छ । जलाइएको भवनबाट २४ वर्षीया मुसलमान युवकको शव निकालेपछि मङ्गलबार प्रहरीले दुई दर्जनभन्दा बढी व्यक्तिलाई पक्राउ गरेको जनाइएको छ ।

मुसलमानहरू बौद्ध धर्मावलम्बी समुदायबीच भएको एक विवादका क्रममा भएको झडपमा बौद्ध धर्मावलम्बी पुरुष सख्त घाइते भएका थिए । उपचारका क्रममा उनको मृत्यु भएको थियो । सोही समयदेखि नै दुई समूहबीच तनाव शुरु भएको थियो ।

दुई करोड १० लाख जनसंख्या रहेको यस देशमा ७० प्रतिशत बौद्ध धर्मावलम्बी रहेका छन् भने, नौ प्रतिशत मात्र मुसलमान समुदाय रहेका छन् । रासस÷एएफपी

प्रकाशित मिति: २३ फाल्गुन २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्