श्रीलङ्कामा भएको प्रदर्शन थप अशान्त बन्दै, ८१ जना पक्राउ


 


कोलम्बो, फागुन २५

श्रीलङ्काको गत केही दिनयतादेखि कान्डी शहरमा जारी आन्दोलनका क्रममा भएको झडपमा ८१ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मानवीय क्षति नै हुने गरी भएको प्रदर्शनका मुख्य सदिग्ध व्यक्तिहरूसमेत गरी ८१ जनालाई पक्राउ गरिएको प्रहरी अधिकारीहरूले बिहीबार जनाएका छन् ।

पक्राउ परेकामध्ये ७१ जनालाई हिंसात्मक गतिविधिमा संलग्न भएको आरोप लगाइएको छ भने अरू चार जनालाई कर्फ्यु उल्लंघन गरेको आरोपमा पक्राउ गरिएको छ ।

त्यसैगरी पक्राउ गरिएका छ जनालाई भने सामाजिक सञ्जालमार्फत् आन्दोलन चर्काउन र हिंसा भड्काउन प्रेरित गरेको आरोप लागेको अधिकारीहरूले जनाएका छन् ।

स्थितिलाई नियन्त्रणमा लिनका लागि कर्फ्यु आदेश जारी गरिएको र आवश्यकता तथा अवस्था हेरेर कफर््युका बारेमा निर्णय लिइने प्रहरी अधिकारीहरूले बताएका छन् ।

कानून कार्यान्वयनका लागि भन्दै लागू गरिएको कफ्र्यु प्रहरीले कम्तीमा शुक्रबार बिहानसम्म कायम रहने जनाएको छ । केही दिनदेखि भइरहेको हिंसात्मक आन्दोलनका क्रममा घर, पसल, मन्दिर, मस्जिद आदि संरचनामा ठूलो क्षति पुगेको छ ।

आन्दोलन चर्किदै र हिंस्रक बन्दै गएपछि राष्ट्रपति मैत्रीपाला शिरीसेनाले बुधबार एक हप्ता लामो सङ्कटकाल घोषणा गर्नुभएको छ ।

प्रदेशभरी घोषणा गरिएको सङ्कटकाल सन् २००९ नौ पछि पहिलो पटक भएको समाचारमा जनाइएको छ । बौद्ध धर्मावलम्बी र मुसलमान समुदायबीच भएको विवादका कारण केही दिन यतादेखि यो झडप जारी रहेको छ ।

विवादका क्रममा एक बौद्ध धर्मावलम्बी युवक कुटिएका र उनको उपचारका क्रममा मृत्यु भएपछि यी दुई समूहबीच केहीदिन अगाडिदेखि नै झडप शुरु भएको थियो ।
गत मङ्गलबार कान्डी शहरमा रहेको एक घरमा भएको आगजनीमा एक मुसलमान युवकको मृत्यु भएपछि यो हिंसाले झन उग्ररूप लिएको थियो । त्यस पछाडि राष्ट्रपति शिरीसेनाले राष्ट्रव्यापी सङ्कटकाल घोषणा गर्नुभएको थियो । रासस÷सिन्ह्वा

प्रकाशित मिति: २५ फाल्गुन २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्