कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठक: गर्यो यस्ता १० निर्णय


 


सुर्खेत, फागुन २६

कर्णाली प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले १० वटा निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले १० वटा निर्णय गरेको हो, जसमा सार्वजनिक लिखतको प्रमाणीकरण २०७४ को पहिलो संशोधन, प्रदेश सरकारको कार्य सञ्चालन नियमावली, २०७४ को पहिलो संशोधन, प्रदेश सरकारको कार्य विभाजन नियमावली, २०७४ को पहिलो संशोधनको निर्णय गरिएको प्रदेश सरकारका प्रवक्ता तथा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले जानकारी दिनुभयो ।

त्यसैगरी, बैठकले प्रदेश मन्त्रिपरिषद्का सदस्यहरुको आचारसंहिता, २०७४ र प्रदेश मन्त्रीपरिषद्सम्बन्धी कार्यविधि, २०७४ स्वीकृत गरिएको मन्त्री केसीले बताउनुभयो । त्यस्तै, मन्त्रिपरिषद् बैठकले तीनवटा समिति गठन गरेको छ, जसमा राजनीतिक समिति, प्रशासन तथा विधेयक समिति र आर्थिक सामाजिक तथा पूर्वाधार समिति रहेका छन् ।

आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाको संयोजकत्वमा भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसी र भौतिक पूर्वाधार विकासमन्त्री खड्गबहादुर खत्री सदस्य रहनेगरी राजनीतिक समिति गठन गरिएको छ ।

आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीेको संयोजकत्वमा सामाजिक विकासमन्त्री दलबहादुर रावल र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढा सदस्य रहनेगरी प्रशासन तथा विधेयक समिति गठन भएको प्रवक्ता केसीले जनाउनुभयो ।

आर्थिक, सामाजिक तथा पूर्वाधार समितिमा सामाजिक विकासमन्त्री दलबहादुर रावलको संयोजकत्वमा कानूनमन्त्री नरेश भण्डारी र पूर्वाधार विकासमन्त्री खड्गबहादुर खत्री रहने जनाइएको छ । कर्णाली प्रदेशको आर्थिक कार्यविधि, २०७४ प्रदेशसभामा पठाउन आर्थिक मामिला तथा योजना मन्त्रालयलाई स्वीकृति दिइने निर्णय गरिएको छ ।

बैठकले रारा कर्णाली पर्यटन वर्ष २०७५ वैशाख १ गते उद्घाटन गर्न मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको संयोजकत्वमा १५ सदस्यीय मूल आयोजक समिति गठन गरेको छ । समितिमा मन्त्रीहरु, प्रमुख सचिव, मन्त्रालयका सचिवहरु सदस्य तथा पर्यटन मन्त्रालयको सचिव सदस्यसचिव रहने निर्णय गरिएको उहाँले बताउनुभयो ।

यो प्रदेशको पर्यटन वर्षलाई सफल बनाउन आर्थिक व्यवस्था समितिको संयोजकमा मन्त्री प्रकाश ज्वाला, आवास तथा सुरक्षा समितिको संयोजकमा मन्त्री नरेश भण्डारी, स्वास्थ्य तथा प्रचारप्रसार समितिको संयोजकमा मन्त्री दलबहादुर रावल, खाद्य तथा कोशेली व्यवस्थापन समितिको संयोजकमा विमला केसी, पर्यटन वर्ष व्यवस्थापन समितिको संयोजकमा मन्त्री नन्दसिंह बुढा र यातायात व्यवस्थापन समितिको संयोजक मन्त्री खड्गबहादुर खत्री रहनुभएको छ ।

बैठकले प्रदेशको विकास र समृद्धिका लागि काठमाडौँमा बृहत् अन्तक्र्रिया गर्ने पनि निर्णय गरेको छ । त्यसको आवश्यक संयोजन तथा समन्वयका लागि कानून मन्त्री भण्डारी र योजनामन्त्री ज्वालालाई जिम्मेवारी तोकिएको प्रदेश सरकारका प्रवक्ता केसीले जानकारी दिनुभयो । त्यसका साथै प्रदेश सरकारले हरेक महिनाको १ र १५ गते श्रम दिनकारुपमा कुनै न कुनै कार्य गर्ने पनि निर्णय गरेको जनाएको छ । रासस

प्रकाशित मिति: २६ फाल्गुन २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्