विदेश भ्रमणमा ब्रह्मलुट, एक वर्षको खर्च ६ महिनामै स्वाहा


 


काठमाडौं, फागुन २८
भत्ताकै लागि अनावश्यक विदेश भ्रमणमा जाने प्रवृत्ति नरोकिएपछि सरकारले चालू आर्थिक वर्षमा कर्मचारीको विदेश भ्रमणका लागि छुट्याएको बजेट पहिलो ६ महिनामै सकिएको छ ।

सरकारले चालू आवमा कर्मचारीको विदेश भ्रमणका लागि ‘भ्रमण खर्च’ शीर्षकमा छुट्याएको रकमले पहिलो ६ महिनाका लागि पनि नपुगरे थप ४१ करोड ९६ लाख ६५ हजार रुपैयाँ थप खर्च भएको छ। नागरिकमा खबर छ ।

चालू आव ०७४÷०७५ को बजेटमा ‘खर्च शीर्षक नम्बर २२६१२’ मा सरकारी कर्मचारीका लागि भ्रमण खर्चको व्यवस्था गरिएको छ । बजेटमा कर्मचारी ‘भ्रमण शीर्षक’ मा एक वर्षका लागि १ अर्ब ७२ करोड ८६ लाख २२ हजार रुपैयाँ छुट्याइएको छ । सो शीर्षकको रकम सरकारी कर्मचारीको विदेश भ्रमण र सरुवा भत्तामा खर्च गरिन्छ ।

अर्थ मन्त्रालयको तथ्यांकअनुसार चालू आर्थिक वर्षको पहिलो ६ महिनामा कर्मचारीको विदेश भ्रमणमा २ अर्ब १४ करोड ८२ लाख ८७ हजार रुपैयाँ खर्च भइसकेको छ । भ्रमण शीर्षकको अधिकांश रकम विदेश भ्रमणका नाममा खर्च भएको छ । यो अवधिमा ४ हजारभन्दा बढी सरकारी कर्मचारीले विदेश भ्रमण गरेका छन्।

सरकारले चालू आवमा पुँजीगत खर्च २३।६० प्रतिशतमात्र गरेका बेला सरकारी कर्मचारीको विदेश भ्रमण खर्च भने १२४।२८ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको तुलनामा चालू आवको पहिलो ६ महिनामा कर्मचारीको भ्रमण खर्च ९५।३३ प्रतिशतले वृद्धि भएको छ।

आव २०७३÷७४ मा कर्मचारीका लागि ‘भ्रमण शीर्षक’ मा १ अर्ब ४९ करोड ८९ लाख ३२ हजार रुपैयाँ छुट्याइएको थियो । उक्त आवको पहिलो ६ महिनामा ४३ करोड ३९ लाख ५ हजार रुपैयाँ खर्च भएको थियो । अघिल्लो आवको पहिलो ६ महिनाको तुलनामा चालू आवमा १ अर्ब ७१ करोड ४३ लाख ८२ हजार रुपैयाँभन्दा बढी कर्मचारी विदेश भ्रमणमा खर्च भएको छ ।

प्रकाशित मिति: २८ फाल्गुन २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्