विकास बजेट शिक्षकको तलबमा खर्च


 


बैतडी, फागुन २८

बैतडीको दशरथचन्द नगरपालिकाले नगरपालिका भित्रका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकलाई विकास बजेटबाट तलब खुवाएको छ । बैतडीमा शिक्षकलाई तलब खुवाउन स्थानीय तहलाई हम्मेहम्मे परेको छ ।

शिक्षकका लागि आवश्यक रकम निकासा नभएपछि शिक्षकलाई विकास बजेटबाट तलब खुवाएको दशरथचन्द नगरपालिकाका उप–प्रमुख मीना चन्दले बताउनुभयो ।

अर्थ मन्त्रालयले कम रकम निकासा दिएपछि विकास बजेटबाट तलब खुवाउनु परेको उहाँको भनाइ छ । अर्थ मन्त्रालयले रु दश करोड मात्रै निकासा दिएकाले नगरपालिकाले रु चार करोड ३५ लाख ३ हजार १६० विकास बजेटबाट थपेर शिक्षकलाई तलबभत्ता वितरण गरेको

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश गौतमले बताउनुभयो । दशरथचन्द नगरपालिकाअन्तर्गत ५६ वटा सामुदायिक विद्यालय रहेका छन् ।

नगरपालिकाको विकाससहित दुई चौमासिकको तलबभत्ता वितरण गरिएको नगरपालिकाको शिक्षा शाखा प्रमुख गणेश जोसीले बताउनुभयो । विकास बजेट शिक्षकको तलबमा खर्च भएकाले समयमा निकासा नभए विकास निर्माणका काममा बाधा पुग्ने देखिएको छ । रासस

प्रकाशित मिति: २८ फाल्गुन २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्