दुई वर्षदेखि बाँसको टहरामा बालबालिका


 


ताप्लेजुङ, चैत १

ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–३ स्थित पञ्चेश्वरी माध्यमिक विद्यालयका विद्यार्थी दुई वर्षदेखि बाँसको टहरामा असुरक्षित रुपमा बसेर पढ्न बाध्य छन् ।

विसं २०७२ मा आएको भूकम्पले विद्यालयको एउटा भवनमा क्षति पुगेपछि कक्षा ५ सम्मका बालबालिकालाई बाँसको टहरामा राखेर पठनपाठन गराइँदै आएको छ । कक्षा ६ देखि १० सम्मका विद्यार्थी भने भूकम्पले चर्काएको जीर्ण भवनमा जोखिम मोलेर बस्दै आएका छन् ।

बाँसले बनाएको टहरामा पठनपाठन गर्न समस्या हुँदै आएको छ भने हावाहुरी चल्दा र वर्षा हुँदा बालबालिका असुरक्षित हुने गरेका छन् । अरु कक्षा ६ देखि १० सम्मका विद्यार्थीले भने ढल्नै लागेको भवनमा डर र त्रासकासाथ बसेर पढ्ने गरेका छन् ।

२०७२ को वैशाखमा गएको भूकम्पपछि लगत्तै जेठ अन्तिममा गएको पहिरोले समेत विद्यालयको भवनमा क्षति पुगेको थियो । भवन भत्किएसँगै तत्काल जिल्ला शिक्षा कार्यालय, शान्ति तथा पुनःनिर्माण मन्त्रालय, पहर ट्रष्ट नेपाललगायतका संघसस्थामा भवन निर्माणका लागि पहल गरिएको भए पनि कसैले वास्ता नगरेको विद्यालयका निमित्त प्रधानाध्यापक भीमबहादुर विश्वकर्माले बताउनुभयो ।

जिल्ला शिक्षा कार्यालयको भौतिक सुविधा विस्तार कार्यक्रम २०७२÷०७३ अन्तर्गतको भवन समेत निर्माणाधीन अवस्थामा छ । गएको असार मसान्तमा नै सकिने गरी एकवर्ष अघि निर्माण सम्झौता भएपनि हालसम्म नबन्दा समस्या भएको छ । चालू आवमा गाउँपालिकाले रु पाँच लाख मात्र मर्मतका लागि भनेर छुट्याएको छ । उक्त सानो बजेटले कत्ति पनि काम नहुने देखिएको स्थानीयले बताए ।

समयमा भवन निर्माणका लागि कसैले चासो नदेखाएकोमा स्थानीय अभिभावकले गुनासो गरेका छन् । यता जिल्ला शिक्षा अधिकारी चैतन्यप्रसाद निरौलाले भने सो विद्यालयको भवन निर्माणका लागि पहल भइरहेको बताउनुभयो । रासस

प्रकाशित मिति: १ चैत्र २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्