जर्मन चान्सलरमा मर्केल फेरी निर्वाचित


 


बर्लिन, चैत १

जर्मन चान्सलरमा एन्जेला मर्केल फेरी निर्वाचित हुनुभएको छ ।

जर्मनीको संसदले बुधबार उहाँलाई चौँथो कार्यकालका लागि चान्सलरमा निर्वाचित गरेको हो । युरोपको सबैभन्दा ठूलो अर्थतन्त्र भएको मुलुक जर्मनीमा उहाँको लोकप्रियतालाई लिएर विश्वभरी नै चर्चा भएको छ ।

जर्मनीको तल्लो सदनका कूल ७०९ जना सांसदमध्ये ३६४ जनाले मर्केलको पक्षमा मतदान गरेका थिए । संसदको स्पष्ट बहुमत उहाँलाई प्राप्त भएकाले मर्केल चान्सलरमा निर्वाचित हुनुभएको तल्लो सदनका सभामुखले घोषणा गर्नुभएको थियो ।

मर्केल नेतृत्वको युनियन पार्टी र सोसियल डेमोक्र्याटिक पार्टी (एसपीडी)ले गठबन्धन सरकार बनाउने बारेमा सोमबार सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।

गठबन्धन बनाएका दुई पार्टी जर्मनीका सबैभन्दा ठूला पार्टी हुन् । यस्लाई ‘ठूलो गठबन्धन’को संज्ञा दिइएको छ । निर्वाचन पछि मर्केलले राष्ट्रपतिलाई भेट्नु भएको छ भने तत्काल नयाँ मन्त्रिपरिषद् बनाउने तयारी गर्नुभएको छ ।

यसैबीच चीनका राष्ट्रपति सि जिन पिङले फेरी चान्सलर निर्वाचित हुनु भएकोमा एन्जेला मर्केललाई बधाई दिनुभएको छ । उहाँले बुधबार पठाउनुभएको शुभकामना तथा बधाई सन्देशमा चीनसँगको सम्बन्ध आगामी दिनमा अझ प्रगाढ बन्ने विश्वास पनि व्यक्त गर्नुभएको छ ।

मर्केललाई अन्य देशका राष्ट्र तथा सरकार प्रमुखहरूले पनि बधाई सन्देश पठाएको सरकारी अधिकारीहरूले बताएका छन् । रासस÷सिन्ह्वा

प्रकाशित मिति: १ चैत्र २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्