उपसभामुखमा भुसाल र तुम्बाहाम्फेको उम्मेदवारी


 


काठमाडौँ, चैत १
प्रतिनिधिसभाको उपसभामुख पदमा नेकपा (एमाले)का डा शिवमाया तुम्बाहाम्फे र नेपाली काँग्रेसका पुष्पा भुसाल गौतमले उम्मदेवारी दिनुभएको छ ।

शुक्रबार हुने उपसभामुखको निर्वाचनका लागि उहाँहरू दुवैले आज उम्मेदवारी मनोनयन दर्ता गर्नुभएको हो ।

डा तुम्बाहाम्फेको प्रस्तावकमा देवप्रसाद गुरुङ र समर्थकमा रवीन्द्रप्रसाद अधिकारी हुनुहुन्छ भने भुसालको प्रस्तावकमा डा डिला संग्रौला र समर्थकमा देवेन्द्रराज कँडेल रहनुभएको संघीय संसद् सचिवालयका प्रवक्ता डा भरतराज गौतमले राससलाई जानकारी दिनुभयो ।

संघीय संसद् सचिवालयले भोलि चैत २ गते दिउँसो १ बजे उपसभामुखको निर्वाचनका लागि तय गरेको प्रवक्ता डा गौतमले बताउनुभयो ।

भोलिको प्रतिनिधिसभा बैठकमा दुवै उम्मेदवारीउपर छलफल गरिने र त्यसपछि मत विभाजन गरिने सचिवालयले जनाएको छ ।

उपसभामुखको निर्वाचनका लागि आज बिहान ११ देखि २ बजेसम्म उम्मेदवारी मनोनयन दर्ताको समय निर्धारण गरिएको थियो ।

प्रतिनिधिसभाका सभामुखको निर्वाचत गत फागुन २६ गते सम्पन्न भएको थियो ।

सभामुखमा नेकपा (माओवादी) केन्द्रका नेता कृष्णबहादुर महरा निर्विरोध निर्वाचित भइसक्नुभएको छ ।

संविधानको धारा ९१ मा प्रतिनिधिसभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन गरिसक्नुपर्ने व्यवस्था छ ।

प्रतितिधिसभाको पहिलो बैठक गत फागुन २१ गते बसेको थियो ।

त्यस्तै सभामुख र उपसभामुखमध्ये एकजना महिला हुनुपर्ने र दुवै पदमा फरक फरक दलको प्रतिनिधित्व हुनुपर्ने संवैधानिक व्यवस्था छ ।

प्रकाशित मिति: १ चैत्र २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्