प्रसूति सेवा लिनेलाई थप एक हजार रुपैयाँ


 


राजविराज, चैत २

यहाँको एक स्वास्थ्य चौकीमा प्रसूति गृहबाट सेवा लिने सेवाग्राहीलाई थप रु एक हजार दिएर पुरस्कृत गर्ने घोषणा गरिएको छ ।

जिल्लाको सुरुङ्गा नगरपालिका–१ पिप्रापश्चिमस्थित स्वास्थ्य चौकीमा प्रसूति गृहबाट सेवा लिनेलाई सो रकम दिएर पुरस्कृत गर्ने निर्णय गरेको स्वास्थ्य चौकीले जनाएको छ ।

उक्त स्वास्थ्य चौकीमा सेवाग्राहीलाई सरकारले दिँदै आएको सुत्केरी भत्तामा थप रु एक हजार दिइने सुरुङ्गा नगरपालिका–१ का वडाध्यक्ष मुक्तिकुमार कार्कीले घोषणा गर्नुभएको छ ।

सो वडाका वडाध्यक्ष कार्कीले सेवाग्राहीका बच्चाका लागि बेवी सेटसमेत उपलब्ध गराउने बताउनुभयो । हाल सरकारले प्रसूति गृहको सेवा लिँदा यातायातबापत रु ५०० र प्रोत्साहन भत्तास्वरुप रु ४०० तथा न्यानो कपडा उपलब्ध गराउँदै आएको छ ।

सेभ द चिल्ड्रेनको साझेदारीमा सबल नेपालद्वारा सञ्चालित स्पोन्सरसीप परियोजनाअन्तर्गत पिप्रा पश्चिम स्वास्थ्य चौकीमा प्रसूति गृह निर्माण गरिएको छ ।

रु पाँच लाख मूल्य बराबरको आर्थिक सहयोगमा निर्माण गरिएको प्रसूति गृहमा दैनिक सेवा लिने सेवाग्राहीको भीड लाग्ने गरेको सबल नेपालका प्रमेश्वर झाले बताउनुभयो । रासस

प्रकाशित मिति: २ चैत्र २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्