कविता-“तिमीलाई मन नपर्न सक्छ”


 


म संग यौवनले भरिएको
जवानी मात्र होइन प्रीय,
गर्भवती श्रीमतीलाई छोडी
लोकतन्त्र ल्याउछु भनी
हिडेको श्रीमान आफै नआएपछि
दु:खले शिथिल भएको
मेरी आमाको शरीर पनि छ,
जसको सुसार गर्ने जिम्मा मेरो अंश हो
जो तिमीलाई मन नपर्न सक्छ।

मसंग मृगनयनी यी आँखा मात्र होइन प्रीय
कापी सकिँदा मेरै बाटो हेरिरहने
मेरो भाइको आशालू आँखा पनि छ
जो तिमीलाई मन नपर्न सक्छ।

बुवा बेखवर भएपछि
बहिनीका रहरहरुको पोका फुटाउन
आफ्नै कुर्कुचा फुटाउने मेरो दाईले
अहिले गाउँमा माटोका डल्ला फुटाउदैछन्,
माटोका डल्ला फुटाउँदा फुटाउँदा
खस्रो परेको हातले,
तिम्रो बिहेपछि
तिम्रो चिल्लो हातमा
चिल्लै गाडीको चाबी थमाउन सक्दैनन्
जो तिमीलाई मन नपर्न सक्छ।

मेरो मन मन्दिरमा भएको तिम्रो तस्बिर
मेरो फेसबुकको प्रोफायलमा नहुन सक्छ
जो तिमीलाई मन नपर्न सक्छ।

बर्षौ पहिलाको मेरा मित्रहरुले
मसंग घण्टौ कुरा गर्न सक्छन्
जो तिमीलाई मन नपर्न सक्छ।

म त आफ्नै खुशीमा बाँच्ने मान्छे
तिमीलाई मन नपर्ने यावत कुराबाट
टाढा कसरी रहुँला र !

के गर्छौ त प्रीय?
तिमीलाई मन नपर्ने धेरै कुरा छ मसंग
बरु जाऊ, आजै जाऊ
धेरै टाढा जाऊ र भूलिदेउ,
तिमीलाई मन पर्ने मेरो जवानीलाई
बिर्सिदेउ मेरो मृगनयन आँखा
यी सारा कुरा बिर्सेर सम्झ बरु
तिम्रो आफ्नै स्वतन्त्रताको कुरा,
तिमिलाई कुनै बाधा गर्नुछैन मलाई

यदि,
तिमीलाई मन नपर्ने
यी सबै कुरालाई पनि अंगालेर
मेरो जीवनमा समाविष्ट हुन चाहन्छौ भने
आऊ आजैबाट
बाँकी जिन्दगीको एक एक पललाई
हाँसोमा अनुबाद गरौँ
जो बर्षौदेखि मैले गर्दै आइरहेकी छु ।

मीना आम्लाबुङ्ग

प्रकाशित मिति: २ चैत्र २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्