नेपाल नेदरल्याण्डसंग ४५ रनले पराजित, सातौं स्थानमा पुग्न असफल


 


काठमाडौं, चैत ३
एकदिवसीय छनौट प्रतियोगितामा आज सातौं स्थानका लागि नेदरल्याण्डसंग भएको खेलमा नेपाल ४५ रनले पराजित भएको छ । यससंगै नेपाल आठौ स्थानमा रहेर स्वदेश फर्किने भएको छ ।

यद्यपि, नेपालले प्रतियोगिताबाट आफनो मुख्य लक्ष्य भने हात पारिसकेको छ । नेपालले चार बर्षका लागि एकदिवसीय मान्यता पाइसकेको छ ।

जिम्बावेको क्वे मैदानमा जारी प्रतियोगितामा टस जितेर ब्याटिङ गरेको नेदरल्याण्ड्सले ५० ओभरमा नौ विकेट गुमाउँदै एक सय ८९ रन बनायो ।

नेपाली बलरसामु सुरुवात देखि नै दबावमा रहेको नेदरल्याण्डसका कुनै पनि खेलाडीले बलियो साझेदारी गर्न सकेनन् । नेदरल्याण्ड्सको खातामा एक रन पनि नहुँदा नेपालले पहिलो विकेट लियो ।

त्यसपछि ६ रन हुदा नेदरल्याण्ड्सको दोस्रो विकेट झरयो । दुबै विकेट सोमपालले लिएका थिए । ३७ खेलमा सोमपालले विकेटको अर्धसतक पुरा गरे ।

एकपछि अर्को विकेट झारेको नेपालले विपक्षीको ३७ रन हुदा तेस्रो सफलता हात पार्यो । उसका लागि म्याक्सवेल प्याट्रिकले २८ तथा रे भान देर र स्कट इडवार्डले समान २५–२५ रनको योगदान गरे । यस्तै बास दे लीडीले ३९ रन बनाए ।

पिटर सिलरले सेन स्नाटरले समान २३–२३ रन बनाए । नेपालको कसिलो बलिङ सामु नेदरल्याण्ड्सले एक सय ७ रन बनाउदा सात विकेट गुमाएको थियो । बलिङ तर्फ सोमपाल कामीले ४ तथा सन्दिप लामिछाने र ललित राजबंशीले दुई दुई विकेट लिए ।

जवाफमा नेपाल ४४ ओभर ४ बलमा एक सय ४४ रनमा समेटियो । सुरुवात राम्रो गर्न नसकेको नेपालले ११ रन हुदा पहिलो विकेट गुमाउन पुग्यो । त्यसपछि ५१ रन हुदा तीन विकेट खेर फालेको नेपालको मिडिल अडर चल्न सकेन ।

नेपालका लागि दिपेन्द्र ऐरीले २५ तथा कप्तान पारस खड्काले २२ रनको योगदान गरे । ज्ञानेन्द्र मल्ल चार रनमा आउट हुदा अनिल शाह मात्र आठ रनमा पेभेलियन फर्किए ।

६१ रनमा पाच विकेट गुमाएको नेपालले त्यसपछि अरु ४८ रन थप्दा थप तीन विकेट गुमायो । नेपालका करण केसी १३ रनमा आउट हुदा आरिफ शेख ५ रन बनाए । शक्ति गौचन र रोहित पौडेल खाता नै खोल्न नसकेर आउट हुन पुगे ।

प्रकाशित मिति: ३ चैत्र २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्