माओवादी बन्यो मन्त्री उत्पादन गर्ने कारखाना, ११ बर्षमा ९५ जना मन्त्री !


 


काठमाडौं, चैत्र ४
०६२/६३ को जनआन्दोलनयता माओवादी केन्द्रका मात्रै ९५ जनाले मन्त्री बन्ने अवसर पाएका छन् । ०४६ सालयता सरकारमा ‘हालिमुहाली’ गरेका कांग्रेस एमालेभन्दा ११ वर्षको अवधिमा बढी मन्त्री उत्पादन गर्ने पार्टी माओवादी बनेको छ ।

दोस्रो जनआन्दोलनपछि कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा माओवादी पहिलोपटक सरकारमा सहभागी भएको हो । त्यसयताको ११ वर्षमा ११ वटै सरकार बनेको छ भने ८ वटामा माओवादी सहभागी छ ।

०६६ मा बनेको माधवकुमार नेपालको सरकार, ०६९ मा बनेको खिलराज रेग्मीको चुनावी सरकार र ०७० मा दोस्रो संविधानसभापछि बनेको सुशील कोइराला नेतृत्वको सरकारबाहेक सबैमा माओवादी सहभागी छ ।

यसबीचमा तीनपटक माओवादी आफैले सरकारको नेतृत्वसमेत गरेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहालले दुईपटक र डा. बाबुराम भट्टराईले एकपटक सरकारको नेतृत्व नै गरेका थिए ।

यो अवधिमा कुनै नेता यस्ता भाग्यमानी पनि बनेका छन् कि एकै जनाले ५-५ पटकसम्म मन्त्री बन्ने अवसर पाएका छन् ।

कृष्णबहादुर महरा र गिरिराजमणि पोखरेल सबैभन्दा बढी मन्त्री बन्ने माओवादी नेता हुन् । अन्य धेरैजसो नेताले पनि सरकारमा दोहोरिने, तेहोरिने अवसर पाएका छन् ।

रोल्पा-रुकुमका मात्रै ४३ जना

राज्यसत्तामा उत्पीडित वर्ग, क्षेत्र र लिंगको पहुँच नभएको जिकिर गर्दै १० वर्षसम्म हिंसात्मक विद्रोहमा सामेल भएको माओवादीले ११ वर्षको बीचमा रोल्पा(रुकुम दुई जिल्लाका मात्रै ४३ जनालाई ‘मन्त्री’ बनाएको छ ।

त्यसो त राज्यको महत्वपूर्ण पद उपराष्ट्रपति, प्रतिनिधिसभा सभामुखलगायतमा पनि ०७२ यता रोल्पाली माओवादी नेताले नै जिम्मेवारी सम्हाल्न पाएका छन् । अबको पाँच वर्ष उनीहरूले नै त्यो अवसर पाउँदै छन् । अन्नपूर्णपोष्टबाट

प्रकाशित मिति: ४ चैत्र २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्