आफ्नै मेयरविरुद्ध उपमेयर अनशनमा !


 


जनकपुर, चैत ६
आफ्नै मेयरविरुद्ध आमरण अनशनमा बसेकी हंसपुर नगरपालिकाकी उपमेयर रेणु झाको स्वास्थ्य अवस्था बिग्रेपछि अस्पताल भर्ना गरिएको छ ।

दुई दिनदेखि अनशन बसेकी उपमेयर झालाई सोमबार जनकपुर अञ्चल अस्पताल भर्ना गरिएको हो । नयाँ पत्रिकामा खबर छ ।

हंसपुर नगरपालिकाको केन्द्र सार्ने विषयमा मेयर रामज्ञान मण्डल र उपमेयर झाबीच विवाद भएपछि कार्यालयमा तालाबन्दी भएको छ । बघचौडामा रहेको नगरपालिका कार्यालय मेयर मण्डलले अन्यत्र सार्न लागेको भन्दै उपमेयर झाले विरोध जनाएकी हुन् ।

नगरपालिका मेयर र उपमेयर दुवै राजपा नेपालका हुन् । मण्डलले आफूलाई जानकारी नै नदिई विशेष नगरसभा बोलाउने तयारी गरेको उपमेयरको आरोप छ । बाघचोडमा रहेको नगरपालिकाको कार्यालयलाई अन्य स्थानमा सार्न खोजेको भन्दै झाले अनशन थालेकी हुन् ।

उपमेयर झाले केही दिनअघि मेयरबाट आफूमाथि असुरक्षा रहेको भन्दै जिल्ला प्रशासन कार्यालयमा निवेदन नै दर्ता गराएकी छिन् । ‘दुई महिनाअघि सम्पन्न प्रथम नगरसभाको हरहिसाबसमेत मलाई स्पष्ट रूपमा जानकारी गराइएको छैन,’ उनले भनिन् ।

मेयर मण्डलले स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा निर्वाचनको ६ महिनाभित्र दुईतिहाइ बहुमतले केन्द्र परिवर्तन गर्न सकिने प्रावधान रहेको बताए । ‘नगरवासीलाई पायक पर्ने स्थानमा कार्यालय सार्न सदस्यहरूको दबाब छ ।

दुईतिहाइभन्दा बढी बहुमतले कार्यालय सार्न दबाब दिएकाले कानुनअनुसार प्रक्रिया अगाडि बढाउनु मेरो कर्तव्य हो,’ उनले भने । नगरपालिकामा तालाबन्दी भएपछि जन्मदर्ता, विवाहदर्ता तथा विकास निर्माणका कार्य प्रभावित भएका छन् ।

प्रकाशित मिति: ६ चैत्र २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्