श्वेतपत्रमार्फत सबै प्रदेशका समस्या समाधान गरिन्छ– प्रधानमन्त्री


 


काठमाडौँ, ७ चैत
प्रधानमन्त्री केपी शर्मा ओलीले संघीयता कार्यान्वयनमा देखिएका समस्या समाधानका लागि सरकारले श्वेतपत्र जारी गर्ने बताउनुभएको छ ।

सातवटै प्रदेश सरकारका मुख्य मन्त्रीसँग विद्यमान अवस्थाको जानकारी लिने क्रममा प्रधानमन्त्री ओलीले संघीयता कार्यान्वयन गरेर समृद्धिको बाटोमा अगाडि बढ्ने विषयमा सरकारले स्पष्ट योजनासहित अगाडि बढ्ने बताउनुभएको हो ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको बैठकबारे जानकारी दिँदै प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमालले प्रवृत्तिगत एवं अन्य समस्याका कारण अलमल देखिएको तर चाँडै श्वेतपत्रमार्फत समस्याको समाधान गरिने बताउनुभएको हो ।

प्रधामन्त्रीलाई उद्धृत गर्दै उहाँले भन्नुभयो, “संघीयताबाट फर्कने अधिकार कसैलाई पनि छैन, संघीयता चलाउन सकिएन भन्ने अनुमति कसैलाई छैन ।” प्रधानमन्त्रीले ओलीले थप स्पष्ट पार्दै भन्नुभयो, “सबै तहका सरकार नेपाल सरकार नै हुन्, सबै सरकार मिलेर एउटै तालमा काम गर्नुपर्छ ।”

प्रधानमन्त्री ओलीले कानून कस्तो बनाउने, संघीय संसद्बीचको समन्वय कसरी गर्ने हो भन्ने विषयमा प्रदेश आफैँले समन्वय गर्नुपर्ने भएकाले अलिअल अलमल हुनु स्वाभाविक भएको र अप्ठ्यारालाई हल गरेर अगाडि बढ्ने बताउनुभएको थियो ।

प्रकाशित मिति: ७ चैत्र २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्