विदेशमा अलपत्र परेका नेपाली कामदारको उद्धार


 


काठमाडौँ, चैत ८

ओमानमा अलपत्र परेका आठ नेपाली कामदारको उद्धार गरी नेपाल फर्काइएको छ । मस्कट (ओमान) स्थित नेपाली राजदूतावासले ती कामदारलाई उद्धार गरी नेपाल पठाएको विज्ञप्तिमार्फत जनाएको हो ।

उद्धार गरिएकामा द्वारिकाप्रसाद चौधरी, रामु गिरी, राजकुमार तामाङ, देवबहादुर विक, ज्ञानबहादुर थापा, विक्रम राई, राजेन्द्र गिरी र तेजेन्द्र राना हुनुहुन्छ । ओमानको सोहारस्थित एक कम्पनीमा काम गर्न आएका कामदारले करार सम्झौताबमोजिमको सुविधा नपाएर अलपत्र अवस्थामा रहेको भन्ने उजुरीका आधारमा दूतावासको पहलमा नेपाली कामदारलाई सकुशल स्वदेश फिर्ता गरिएको दूतावासले जनाएको छ ।

उद्धार अवधिभर पीडित कामदारलाई ओमानस्थित प्रवासी नेपाली मञ्चले खान बस्नसमेतको व्यवस्थापन गरेकामा दूतावासले धन्यवाद ज्ञापन गरेको छ ।

प्रकाशित मिति: ८ चैत्र २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्