दाँत मिलाउने नयाँ प्रविधि नेपालमा


 


काठमाडौं, चैत १०
संखुवासभाकी तारा कार्की एमबिबिएस अध्ययन गर्न केही वर्षअघि अमेरिका गइन् । अमेरिका जानुअघि उनले नेपालमा आफ्ना बांगाटिंगा दाँत बनाउने योजना बनाएकी थिइन् । तर, अमेरिका नै जाने भएपछि उतै गएर दाँत मिलाउने निधो गरिन् ।

‘इलेक्ट्रोनिक दाँत लगाउने भन्दै अमेरिकाका एक दर्जनभन्दा बढी अस्पताल पनि धाएँ,’ उनले भनिन्, ‘तर, तारको प्रयोग नगरी ९सफ्ट्वेरले० सीधा बनाउँदा दश लाख लाग्ने रहेछ ।’ कार्कीले नेपालमा पनि बांगाटिंगा दाँत मिलाउने नयाँ प्रविधि भित्रिएको जानकारी पाएपछि नेपाल आएर दाँत लगाएको बताइन् । नयाँ पत्रिकामा खबर छ ।

नेपाल मेडिकल कलेजका दन्तरोग विशेषज्ञ प्राध्यापक डा। प्रकाश भट्टराईका अनुसार नेपालमा बांगाटिंगा दाँत बनाउने नयाँ प्रविधि आएको पाँच महिना भएको छ । नयाँ र भरपर्दो प्रविधि भएकाले यसबाट सेवा लिनेको संख्या बढ्न थालेको छ ।

उनका अनुसार नयाँ प्रविधिको प्रयोग गरेर दाँत बनाउनेहरू अधिकांश विदेशमा अध्ययन गर्न जाने छन् । नयाँ प्रविधि प्रयोग गरेर दाँत लगाउँदा अमेरिकामा १० लाख लाग्छ उनले भने नेपालमा एक लाख ५० हजार लाग्छ ।

७० प्रतिशतमा दाँतको समस्या
देशको कुल जनसंख्यामध्ये ७० प्रतिशत समस्या कुनै न कुनै रूपमा दाँतको रहेको चिकित्सकले बताएका छन् । दाँतमा देखिने समस्या र त्यसको सही निदान नभएकै कारण मुख गन्हाउनेदेखि क्यान्सरसम्म हुने गरेको दन्तरोग विशेषज्ञ डा। निरज पन्तले बताए ।

चिकित्सकले बांगाटिंगा दाँतलाई तारले बाँधेर मिलाउनेभन्दा विनातार दाँत मिलाउन सुझाब दिए । यसो गरेको खण्डमा ८० प्रतिशतसम्म समस्या हल भएर जाने उनीहरूको तर्क छ ।

के हो नयाँ प्रविधि ?
चिकित्सकका अनुसार सुरुमा सम्बन्धित व्यक्तिको दाँतको नाप स्क्यान गरी कम्प्युटरमा समावेश गरिन्छ । त्यसपछि सफ्ट्वेरको माध्यमबाट मिलाइन्छ । नयाँ प्रविधिमा समयसमयमा आएर चिकित्सकलाई देखाउनुपर्ने, कस्नुपर्ने हुँदैन । चिकित्सकले दाँतमा लगाउने सेट दिएर पठाएको हुन्छ । त्यसको डेढ वर्ष प्रयोग गरेपछि बांगाटिंगा दाँत पूर्णरूपमा मिल्नेछ ।

प्रकाशित मिति: १० चैत्र २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्