साझाका करोडौँ पुस्तक थन्किए, यस्तो छ कर्मचारीको प्रवृत्ति


 


चितवन, चैत ११

नेपाली भाषा साहित्यको संरक्षण एवं साहित्यिक कृति उत्पादन गर्दै आएको सरकारी स्वामित्वको संस्था साझा प्रकाशका कर्मचारीले प्रभावकारी रूपमा काम नगर्दा बजारमा माग भइरहेका पुस्तकहरू पनि स्टोरमै थन्किएका छन् ।

भरतपुरस्थित स्याउलीबजारमा रहेको क्षेत्रीय कार्यालयको अव्यवस्थापनका कारण कर्मचारी आफूखुशी बिदामा बस्ने, अवकाश प्राप्त कर्मचारीसमेत हाजिर गरेर बस्ने र व्यापार प्रवद्र्धनमा काम नगर्ने प्रवृत्तिले सोचेजति पुस्तक बिक्री हुन सकेको छैन ।

साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्मा अनुगमनमा आउँदा क्षेत्रीय कार्यालय प्रमुख नै दुई सातादेखि बिना जानकारी कार्यालयमा अनुपस्थित रहेको र बजार प्रवद्र्धन नभएको भेटिएको छ ।

निजी क्षेत्रका प्रकाशक तथा व्यवसायीले सीमित स्रोत साधनका बीच पनि प्रशस्त मुनाफा आर्जन गरिरहेका बेला कर्मचारीको उदाशीनताले सरकारी स्वामित्वको साझा प्रकाशन क्रमशः ओरालो लाग्दै गएको हो ।

अहिले पनि केन्द्र र १३ वटा शाखा कार्यालयमा गरी रु २२ करोड बराबरका पुस्तक स्टोरमा भण्डारण छ । चितवन कार्यालयले माग गरेर पुस्तक बेच्न सक्ने अवस्था भए पनि कर्मचारीले चासो नदिएको शर्मा बताउनुहुन्छ ।

साझा प्रकाशन क्षेत्रीय कार्यालय चितवनले पछिल्लो असोज, कात्तिक र मंसिर महिनामा करीव रु ६ लाखको मात्रै व्यापार गरेको छ । जबकि सोही संस्थाको नुवाकोट शाखाले पछिल्लो ६ महिनामा करीव रु ६० लाखको व्यापार गरेको छ ।

महाप्रबन्धक शर्माले आफ्नो छड्के अनुगमनमा स्थानीय तहमा समन्वय गर्नुपर्ने काम समेत कर्मचारीबाट नभएको पाइएको बताउनुभयो । कर्मचारी आफूखुशी अनुपस्थित भएको, कामको जिम्मेवारी छैन भनेर एक अर्काेमा दोष थोपरेर बस्ने गरेको तथा व्यापार प्रवद्र्धनमा गर्नुपर्ने कामसमेत नगरेको पाइएको शर्मा बताउनुहुन्छ ।

चैत १ गतेदेखि अनुपस्थित हुँदासमेत क्षेत्रीय कार्यालय प्रमुख मनरथ घिमिरेले कुनै जानकारी नगराएको उहाँ बताउनुहुन्छ । तर घिमिरेले भने एक दिनका लागि घर झापा पुगेर आउँछु भनेर जानकारी गराएको तर दुर्घटनामा घाइते भएका कारण आफू आउन नसकेको बताउनुभयो ।

व्यापार बढाउन भने सक्दो प्रयास गरेको घिमिरेको दाबी छ । अध्यक्ष तथा महाप्रबन्धक शर्मा भने व्यापारको सम्भावना प्रशस्त भएर पनि यसका लागि प्रयास नै नगरेको देखिएको बताउनुहुन्छ ।

साझा प्रकाशनको भरतपुर हाकिमचोकमा रहेको करिब पाँच कट्ठा जग्गाको समेत सदुपयोग हुन सकेको छैन । अनुगमनमा कर्मचारीले तलबसमेत खान नपाएको र १० महिनाको घरभाडासमेत नबुझाएको पाइएको छ । लेखा परीक्षण नभएकाले यथार्थ हरहिसाबसमेत देखिएको छैन ।

यस्तै कार्यालयका एकजना कर्मचारी अमृतकान्त पण्डित २०७३ साल माघ १ गतेदेखि नै अवकाश प्राप्त भए पनि हाजिर गरेर बसिरहेको पाइएको छ । पण्डितलाई अवकाशको एक महिनाभित्र बुझबुजारत गर्न लिखित निर्देशन दिँदासमेत हालसम्म हाजिर गरेको पाउँदा आफू आश्चर्यमा परेको अध्यक्ष तथा महाप्रबन्धक शर्माले बताउनुभयो ।

कार्यालयमै भेटिएका पण्डितले जिम्मेवारी बुझबुझारत नभएकाले बसिरहेको बताउनुभयो । कार्यालयका प्रमुख मनरथ घिमिरेले पण्डितलाई पुनः करार नियुक्तिका लागि केन्द्रमा लिखित आग्रह गरेको पाइएको छ ।

साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक शर्माले नुवाकोट, पोखरालगायत केही कार्यालयले उत्कृष्ट काम गरे पनि चितवनको क्षेत्रीय कार्यालय भने प्रभावकारी नदेखिएको चिन्ता व्यक्त गर्नुभयो । साझा प्रकाशनका विभिन्न जिल्लाको वस्तुस्थिति के छ भनेर अनुगमनमा हिँडेको बताउँदै अध्यक्ष शर्माले चितवनपछि बुटवल, दाङ, नेपालगन्ज र धनगढीको अनुगमन गर्ने बताउनुभयो ।

साझा प्रकाशनले सामुदायिक विद्यालयको ३ देखि ९ सम्मका अंग्रेजी माध्यमका पुस्तक उत्पादन र वितरण गर्दै आएको छ । यो सँगै साहित्यलगायत विविध पुस्तक प्रकाशन र वितरण गर्छ । रासस

प्रकाशित मिति: ११ चैत्र २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्