सन् २०१९ भित्र गौतमबुद्ध विमानस्थल सञ्चालनमा ल्याइने


 


काठमाडौँ, चैत ११
पर्यटन मन्त्री रवीन्द्र अधिकारीले सरकारले सन् २०१९ भित्र भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउने तयारी गरिरहेको बताउनुभएको छ ।

रिपोर्टर्स क्लबमा आज आयोजित साक्षात्कारमा उहाँले थप्नुभयो, “खुशीको कुरा छ । नयाँ सरकारले विमानस्थलको निर्माणसम्बन्धी कार्य अगाडि बढाउनमा देखिएका समस्या समाधान गरिसकेको छ ।”

त्यस्तै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अत्याधुनिक प्रविधि जोडेर चौविसै घण्टा सञ्चालन गर्ने गरी काम अघि बढिसकेको उहाँले जानकारी दिनुभयो ।

मन्त्रालयले आगामी पाँच दिनभित्र दीर्घकालीन र अल्पकालीन दृष्टिकोण तयार गरी १०० दिने कार्ययोजना ल्याउने तयारी गरिरहेको तथा आगामी पाँच वर्षभित्र ५० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको मन्त्री अधिकारीले बताउनुभयो ।

त्यस्तै, पाँच वर्षभित्र ८० प्रतिशत भूकम्पबाट भत्किएका संरचना पुनःनिर्माण सम्पन्न गर्ने, १०÷१० वर्षमा मन्त्रालयगत नीतिगत निर्णय पुनरवलोकन गर्ने उहाँको तर्क थियो ।

मन्त्री अधिकारीले ‘नेपाल भ्रमण वर्ष २०२०’ सफल पार्न पूरै देश अभियानका साथ लाग्ने जानकारी दिँदै भैरहवा विमानस्थल र पोखरा विमानस्थललाई अघि बढाउने स्पष्ट गर्नुभयो ।

प्रकाशित मिति: ११ चैत्र २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्