चिकित्साशास्त्र स्नातकोत्तर तहको पाठ्यक्रम निर्माण


 


सुर्खेत, चैत १३

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले चिकित्साशास्त्र (एमडिजिपी) स्नातकोत्तर तहको पाठ्यक्रमको निर्माण गरेको छ ।

पाठ्यक्रम विकास समितिका संयोजक डा तरुण पौडेल, समितिका अन्य छजना सदस्यसहित नेपालका विज्ञ चिकित्सकको टोलीले पाठ्यक्रम निर्माण गरेको हो ।

लामो समयदेखि पाठ्यक्रम निर्माणमा संलग्न रहेको समितिले कर्णाली प्रदेशको राजधानी सुर्खेतमा सोमबार निर्माण कार्य पूरा गरेको प्रतिष्ठानका उपकुलपति प्रा डा राजेन्द्रराज वाग्लेले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “समितिसहितको समग्र विज्ञ चिकित्सकको उत्साहजनक सहभागिताले पाठ्यक्रम अनुमोदन गरिसकेको छ । यसले कर्णाली प्रदेश, प्रतिष्ठान र यहाँका महिला, बालबालिकाको समस्यालाई सम्बोधन गर्ने र उन्नयनमा सहयोग पु¥याउने छ ।” यो कार्य कर्णाली प्रदेशकै लागि ठूलो उपलब्धि हुने उहाँको भनाइ छ ।

प्रतिष्ठानका शिक्षाध्यक्ष प्रा डा धर्मराज श्रेष्ठले मुलुकभरिका शतप्रतिशत विज्ञको सहभागितामा बनेको पाठ्यक्रम अब नेपाल मेडिकल काउन्सिलमा पेश गर्ने तयारीमा रहेको बताउनुभयो ।

“पाठ्यक्रमअनुसारको मापदण्ड पुगे नपुगेको बारे काउन्सिलले हेरेर दिएको स्वीकृति बमोजिम यो कार्यक्रम शुरु गर्छौैं,” शिक्षाध्यक्ष श्रेष्ठले भन्नुभयो । खासगरी यो कार्यक्रम सञ्चालनका लागि पाठ्यक्रम, संकाय र पूर्वाधार आवश्यक हुने उहाँको भनाइ थियो ।

प्रतिष्ठानका डिन प्रा डा मोदनाथ मरहट्टाले निर्मित पाठ्यक्रमले बालरोग, स्त्रीरोग, हाडजोर्नी, जनरल मेडिसिन, एनेस्थेसिया विधाका विशेषज्ञ जनशक्ति उत्पादन गर्ने बताउनुभयो । “नेपालको चिकित्सा जगत्मा विज्ञ र अनुभवी डाक्टर यसरी जमघट भएको अवस्था थिएन,” उहाँले बताउनुभयो ।

यद्यपि प्रतिष्ठान जुम्लाद्वारा आयोजित कार्याशाला गोष्ठीमा सबै विधामा दखल राख्ने प्राध्यापक तथा डाक्टरहरुको संलग्नतामा पाठ्यक्रम बनाइएको छ,” डिन मरहट्टाले रासससँग भन्नुभयो ।

यसअघि एनेस्थेसिया सहायकको पनि पाठ्यक्रम तयारी गरिएको बताउँदै डिन मरहट्टाले भन्नुभयो, “स्वास्थ्य अनुसन्धान परिषद्को सहयोगमा स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले प्राध्यापक, चिकित्सक, शिक्षकको अनुसन्धान तथा प्राध्यापन कला, ज्ञान र सीप अभिवृद्धिका लागि ‘साइन्टिफिक राईटिङ्’ (वैज्ञानिक लेखन) सम्बन्धी तालीम प्रदान गरेको छ ।”

पाठ्यक्रम निर्माणमा नेम्स, चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम), पाटन तथा बिपी कोइराला स्वास्थ्य विज्ञान, कर्णाली स्वास्थ्य विज्ञान र मध्यपश्चिम क्षेत्रीय अस्पताल र देशका अन्य प्रतिष्ठित अस्पतालका विज्ञ चिकित्सकको सहभागिता रहेको थियो ।

पछिल्लो समयमा प्रतिष्ठानले शैक्षिक तथा प्राज्ञिक गतिविधिलाई गतिशील बनाउँदै लगेको छ । २०७० सालदेखि स्टाफ नर्स र २०७२ सालदेखि एचए (स्वास्थ्य सहायक) कार्यक्रम सञ्चालन गर्दै आएको प्रतिष्ठानले आगामी २०७५ सालको वैशाखदेखि मिडवाइफरी तह सञ्चालन गर्ने तयारीमा पुगेको र बिपीएच तहको पठनपाठनको पनि योजना रहेको जनाएको छ । रासस

प्रकाशित मिति: १३ चैत्र २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्