जापानी राजदूतको प्रशंसा गर्दै मन्त्री बस्नेतले सुनाए वन नीति


 


काठमाडौँ, चैत  १४

वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतसँग नेपालका लागि जापानी राजदूत मासासी ओगावाले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

मन्त्रालयमा आज भएको भेटमा उहाँले जापान सरकारले वन तथा वातावरण संरक्षणसहित नेपालको विभिन्न क्षेत्रमा लामो समयदेखि असल साझेदारका रुपमा सहयोग गर्दै आएकोमा उच्च प्रशंसा गर्नुभयो ।

आगामी दिनमा थप सहयोगको अपेक्षा गर्दै मन्त्री बस्नतेले जनस्तरमा समेत जापान नेपालको असल मित्र भएको उल्लेख गर्नुभयो ।

मन्त्री बस्नेतले नेपाल लामो राजनीतिक अस्थिरताको दुस्चक्रबाट भर्खरमात्र मुक्त भएको बताउँदै सरकारको अबको ध्यान शान्ति, स्थिरता र विकास भएको स्पष्ट गर्नुभयो ।


आफ्नो मन्त्रालयले युवाको सक्रिय सहभागितामा वन÷वातावरण संरक्षणका क्षेत्रमा काम गर्ने उल्लेख गर्दै उहाँले वनलाई उद्यमशीलतासँग जोड्ने र राष्ट्रिय अर्थतन्त्रमा उल्लेख्य योगदान गर्ने नीतिका साथ सरकार अघि बढेको छ भन्नुभयो ।

सो अवसरमा राजदूत ओगावाले मन्त्री बस्नेतलाई जापान सरकारका तर्फबाट कार्यकाल सफलताको शुभकामना दिँदै वन तथा वातावरण संरक्षणका क्षेत्रमा थप सहकार्य गर्न जापान सरकार तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो ।

राजनीतिक अस्थिरता अन्त्यसँगै नेपाल आर्थिक विकास र समृद्धिको बाटोमा प्रवेश गरेको उल्लेख गर्दै उहाँले वर्तमान सरकारले अघि सारेको विकास र समृद्धिको योजनामा जापान सक्दो सहयोग गर्न तयार रहेको बताउनुभयो ।

राजदूत ओगावाले चुरे संरक्षण र तराई– मधेसमा वर्षायाममा हेरक वर्ष आउने बाढी÷पहिरोका कारण हुने गरेको धनजनको क्षति रोक्ने कार्यमा सहयोग गर्न जापान सरकार तयार रहेको पनि बताउनुभयो ।

भेटमा राजदूत ओगावाले मन्त्री बस्नेतलाई जापान भ्रमणको निमन्त्रणासमेत दिनुभएको मन्त्रालयले जनाएको छ । रासस

 

प्रकाशित मिति: १४ चैत्र २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्