प्रतिनिधिसभा र प्रदेशसभा संयुक्त बैठकमा राष्ट्रपति


 


काठमाडौँ, चैत १५
राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुक स्थायित्व र समृद्धिको चरणमा प्रवेश गरेकाले अब कुनै पनि बहानामा द्वन्द्वमा जान नहुने बताउनुभएको छ ।

प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकलाई आज सम्बोधन गर्दै उहाँले सबै तहमा जनप्रतिनिधिमूलक संस्थाको निर्वाचनसँगै लोकतन्त्र र अग्रगमनका लागि उज्ज्वल सम्भावना देखिएको उल्लेख गर्नुभयो ।

निर्वाचनपछि पहिलो पटक दुवै सदनको पहिलो ऐतिहासिक बैठकलाई राष्ट्रपति भण्डारीले सम्बोधन गर्नुभएको हो । राष्ट्रपतिले विश्वशान्ति र समृद्धिका लागि मुलुकले सक्दो योगदान गर्नुपर्नेमा पनि जोड दिनुभयो ।

उहाँले छिमेकी राष्ट्रलगायत तमाम मित्रसँग मैत्री र सहकार्यको हात बढाउनुपर्ने बताउँदै नेपाल र नेपालीका विकासका आकांक्षा पूरा गर्न अन्तर्राष्ट्रिय जगतसंग उचित ढंगले समन्वय गरी मुलुक, छिमेक र विश्वमा शान्ति र समृद्धिका लागि सक्दो योगदान गरौँ भन्नुभयो । रासस

राष्ट्रपतिज्यूले दुवै सदनको संयुक्त बैठकलाई गर्नुभएको सम्बोधनको पूर्ण पाठः

प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष र संघीय संसद्का सदस्यहरू १
सबै तहका निर्वाचन सम्पन्न भएको र संविधानले व्यवस्था गरेअनुरूपका संरचनाको समेत निर्माण भइसकेको अवस्थामा देश संविधानको पूर्ण कार्यान्वयनको चरणमा प्रवेश गरेको छ ।

यसबीच हामीले संविधानको व्यवस्थाअनुरूप पुनसंरचना गरिएको राजनीतिक प्रणालीलाई संस्थागत गर्ने सफलता हासिल गरेका छौँ । संविधानबमोजिम स्थानीय, प्रादेशिक र सङ्घीय जनप्रतिनिधि संस्थाहरूको निर्वाचनसमेत सम्पन्न भइसकेको छ, स्थानीय तह एवं प्रादेशिक र सङ्घीय सरकारको गठन पनि भइसकेको छ । साथै राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन सम्पन्न भएर राजनीतिक सङ्क्रमणकाल अन्त्य भई देश स्थायित्व र समृद्धिको युगमा प्रवेश गरेको छ ।

यस महान् उपलब्धिबाट राजनीतिक मात्र होइन, आर्थिक–सामाजिक क्षेत्रमासमेत ठूला उपलब्धिहरू र अग्रगमन हासिल गर्ने अवसर प्राप्त भएका छन् । यस राष्ट्रिय सफलता र उज्ज्वल सम्भावना उन्मुख घडीमा जनताद्वारा निर्वाचित सङ्घीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न पाउँदा मलाई हर्ष र गौरवको अनुभूति भएको छ ।

देशलाई यस अवस्थासम्म ल्याइपुर्याउन नेपाली जनताले विगतमा सञ्चालन गरेका सङ्घर्षका गाथाहरूको स्मरण गर्दै यस घडीमा म शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछु । यसैगरी नेपाली समाजलाई अन्धकार सामन्ती युगबाट आजको अवस्थासम्म ल्याइपु¥याउन अनवरत सङ्घर्षमा आफूलाई समर्पित गर्ने महान् अग्रजहरूको म आदरभावसहित स्मरण गर्न चाहन्छु ।

सर्वस्वीकृत र सर्वाधिक लोकतान्त्रिक विधिबाट साढे दुई वर्षअघि प्रगतिशील र लोकतान्त्रिक संविधान जारी भएपछि प्रारम्भ भएको पछिल्लो र महत्वपूर्ण सङ्क्रमणकालको अत्यन्त महत्वपूर्ण चरण अब पूरा भएको छ । हामी यतिबेला जनताद्वारा निर्वाचित संविधानसभाबाट जारी गरिएको आधुनिक लोकतन्त्रका आधारभूत मान्यतासहितको सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान पूर्ण रूपमा कार्यान्वयन गर्ने दिशामा तीव्र गतिका साथ अगाडि बढिरहेका छौँ ।

यस अवसरमा म संविधान कार्यान्वयनको मूल आधारका रूपमा तीन वटै तहका निर्वाचनहरू सम्पन्न गर्न प्रतिबद्धताका साथ लागि पर्ने राजनीतिक दलहरू, सरकार, सुरक्षा निकायहरू तथा निर्वाचन कार्य सम्पन्न गर्ने दायित्व प्राप्त निर्वाचन आयोगका साथै निष्पक्ष निर्वाचनको सुनिश्चितताका लागि सक्रिय सरकारी तथा अन्य निकाय एवं संस्था प्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।

नेपाली जनताको लामो अनि कष्टपूर्ण सङ्घर्ष, बलिदान र त्यागपछि राष्ट्र अब पूर्ण रूपमा जननिर्वाचित प्रतिनिधिहरूको अगुवाइमा विकास, स्थिरता, समृद्धि र शान्तिको बाटोमा अग्रसर भएको छ । यस अवसरमा म अधिकार, न्याय र समानताका लागि सङ्घर्षको थालनीको विन्दुदेखि संविधान बनाउन र निर्वाचन गराउन सर्वाधिक महत्वपूर्ण योगदान दिने महान् जनतामा हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।

अब देश संविधानले निर्दिष्ट गरेको दिशामा आर्थिक विकास र समृद्धि हासिल गर्न अग्रसर हुनेछ भन्ने विश्वास लिएको छु । जनताको संवैधानिक तथा कानूनी अधिकार एवं मानवअधिकारको प्रभावकारी कार्यान्वयनमा जोड दिँदै न्यायपालिकालाई सुदृढ पार्न सम्बद्ध पक्षको ध्यान पुग्नुपर्दछ । राज्यका सबै अंग, सार्वजनिक, सहकारी, समुदाय र निजी क्षेत्रमा आर्थिक अनुशासन र सदाचारको भावना प्रबल हुनुपर्नेतर्फ सबैको ध्यान आकृष्ट गर्न चाहन्छु ।

भर्खरै सम्पन्न भएका निर्वाचनहरूमा नेपाली जनता उत्साहपूर्ण रूपमा सहभागी भएर कतै कुनै मतभेद र समस्या भए शान्तिपूर्ण विधिमार्फत वर्तमान संविधानले सुनिश्चित गरेको लोकतन्त्रको उच्चतम अभ्यासमार्फत जनप्रतिनिधि संस्थाहरू भित्रैबाट हुनुपर्दछ भन्ने अभिमत व्यक्त गरेका छन् । त्यसैले संसद्मा आम नेपालीको विश्वास प्रतिबिम्बित छ ।

पौने तीन करोड नेपालीले यातायात, सञ्चार, ऊर्जाको विकास र विस्तार, कृषि, पर्यटन र सेवाका क्षेत्रहरूको आधुनिकीकरण र विस्तार, गुणस्तरीय र सुलभ शिक्षा एवं स्वास्थ्य, स्वच्छ खानेपानी र स्वस्थ वातावरण, उद्योग र व्यापारको समुचित विकास, लोकतन्त्रको रक्षा, सामाजिक न्याय र राष्ट्रिय एकता एवं राष्ट्रिय हितको रक्षा र सम्बद्र्धन गर्दै राष्ट्रिय गौरव र स्वाभिमानलाई अघि बढाएर सुशासन र विकासको बाटो हुँदै समग्र आर्थिक, सामाजिक विकासको माध्यमबाट मुलुकलाई समृद्धिको नयाँ उचाइमा पु¥याउने विश्वास पनि यस जनता र जनप्रतिनिधि संस्थाप्रति उत्तरदायी सरकारबाट हुन्छ भन्ने अपेक्षा गरेका छन् । अझ वर्तमान सरकारको स्पष्ट दूरदृष्टि र दृढ सङ्कल्पले आमजनतामा उत्साहको सञ्चार गरेको छ ।

नेपाली समाजको भौगोलिक, सांस्कृतिक वा जातीय विविधतायुक्त सामाजिक वास्तविकता पनि यस सङ्घीय संसद्मा प्रतिबिम्बित छ । यो संसद् नेपालको विविधताबीचको एकताको उत्कृष्ट उदाहरण हो । लामो समयदेखि माग हुँदैआएको राजनीतिक नेतृत्वमा समावेशितालगायतका विषयहरू र समानतासम्बन्धी उपलब्धिहरू हाम्रा निर्वाचित निकायहरूमा सुस्पष्ट रूपमा अभिव्यक्त भएका छन् । निर्वाचित निकायहरूमा महिलाहरूको एकचालीस प्रतिशत उपस्थितिले हामीलाई गौरवबोध गराएको छ । हाम्रा निर्वाचित निकायहरूमा हिजोसम्म पछाडि परेका समुदायको उल्लेखनीय प्रतिनिधित्व सुनिश्चित गरेर हामीले विश्वकै सामु दृष्टान्त प्रस्तुत गरेका छौँ ।

राजनीतिक आबद्धताका दृष्टिले कसैलाई सत्तापक्ष र कसैलाई प्रतिपक्ष भन्न सकिएला तर आमरूपमा यस संसद्का हरेक सदस्यले आफ्ना मतदाताको आशा र भरोसाको सदैव सम्मान गर्नुपर्दछ भन्ने मलाई लाग्दछ । नेपाल अब कुनै पनि बहानामा हिंसातर्फ धकेलिन हुँदैन । देशको जीर्ण आर्थिक–सामाजिक परिवेशले हामीलाई अग्रगामी रूपान्तरणका दिशामा केन्द्रित भएर अघि बढ्न निर्देशित गरेको छ ।

अब जनताका आवश्यकता र चाहनाको परिपूर्तिका लागि सवै तहका जनप्रतिनिधिहरू आआफ्नो कर्तव्यमा समर्पित हुन आवश्यक छ । त्यसैले जनचाहना र आवश्यकताको सम्बोधन गर्न जनप्रतिनिधिहरूबाट निष्ठापूर्वक कर्तव्यपालना हुनेछ भन्ने मैले विश्वास लिएको छु । क्षेत्र, सम्प्रदाय र दलगत राजनीतिभन्दा माथि उठेर जनता र देशको सर्वोपरी हितमा अघि बढ्न यो संसद् प्रयत्नशील रहने छ भन्ने मेरो विश्वास रहेको छ ।

जननिर्वाचित यस सङ्घीय संसद्मा आउनुभएका सम्पूर्ण सदस्यहरूलाई समतामूलक, समाजवादउन्मुख, पूर्ण लोकतान्त्रिक, एकताबद्ध र समृद्ध मुलुकका रूपमा चिनाउने कार्यमा समर्पित हुन आह्वान गर्दछु । नेपालको गौरवशाली स्वाधीन इतिहास, सुन्दर प्रकृति र विविध संस्कृतिलाई हाम्रा पुर्खाले रक्षा गर्दै विश्व समुदायसमक्ष देशभक्त, स्वाभिमानी र बहादुर जनताको देश भनेर नेपालको चिनारी स्थापित गरेका हुन् तर विगतका शासकीय र व्यवस्थापकीय कमजोरीका कारण समयक्रममा नेपाल अतिकम विकसित राष्ट्रका रूपमा चिनिन पुगेको छ ।

ठूलो सङ्ख्यामा नेपाली युवा रोजगारीका लागि विदेश पलायन भइरहेका छन् । आजको परिवर्तन र प्राप्त उपलब्धिको जगमा युवा समुदायको ऊर्जा र जाँगरको प्रयोग देश निर्माणका लागि हुनुपर्छ भन्ने आकाङ्क्षाको अब भरपर्दो ढङ्गले सम्बोधन हुनेछ भन्ने विश्वास व्यक्त गर्दछु ।

यति ठूलो उपलब्धिको हिस्सेदार, उपभोक्ता र अब विकास र समृद्धिको अभियानका अभियन्ता हाम्रा युवाहरूलाई कसरी सक्षम बनाउने सोच्नैपर्दछ । भविष्यका युवा तथा देश विकासको आधारको रूपमा रहेका आजका बालबालिकाको पोषण र शिक्षामा यथोचित ध्यान दिनुपर्दछ ।

लोकतन्त्र जनताको आवश्यकता परिपूर्ति गर्दै विकासको बाटो सुगम बनाउने प्रणाली हो । प्रत्येक नागरिकका लागि स्वतन्त्र भएर स्वाभिमानपूर्वक बाँच्न पाउने अवस्थाको सिर्जना गर्ने राजनीतिक परिपाटी मात्र लोकतान्त्रिक प्रणाली हुनसक्छ । लोकतन्त्र भनेको थेगो हैन यो त जीवन प्रणाली हो । यो अनुभूत गर्ने विषय हो, अरूले बताइदिने विषय होइन । त्यसैले आमजनताको जीवनस्तरमा सुधार ल्याउन नसकिएको खण्डमा लोकतन्त्र अर्थहीन नारा मात्र हुन जान्छ ।

प्रकाशित मिति: १५ चैत्र २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्