यस्तो राजधानी ! जहाँ ९० प्रतिशत सामान भन्सार छलेर आउँछ


 


धनगढी, चैत १६
प्रदेश ७ को राजधानी धनगढी बजारमा बेचिने अधिकांश भारतीय सामान भन्सार छलेर भिœयाउने गरेको पाइएको छ।

बजारमा बेचिने कपडादेखि हार्डवेयरका ९० प्रतिशत सामान भन्सार छलेर नेपाल ल्याउने गरिएकोे छ। सुदूर पश्चिमका व्यापारी नाकामा पनि यस्तै अवस्था छ। अन्नपूर्णमा खबर छ ।

कैलाली जिल्लाको एक सय एक किलोमिटर भारतसँग जोडिएको छ। थानमा भएको कपडामा ३० प्रतिशत, रेडिमेड कपडामा ४० प्रतिशत र मोटरपार्टस तथा हार्डवेयरको सामानमा ४५ प्रतिशतभन्दा बढी भन्सार महशुल तोकिएको छ। वार्षिक पौने चार अर्ब भन्सार राजस्व लक्ष्य तोकिएको कैलाली भन्सारमा बढी भन्सार लाग्ने सामान चोरी तस्करी भइरहेको हो।

धनगढीदेखि टीकापुरसम्म दुई सय ३५ वटा हार्डवेयर पसल संघमा दर्ता छन। एक सयभन्दा बढी व्यवसायीले संघको सदस्यता नलिएका हार्डवेयर संघ कैलालीका अध्यक्ष मायाप्रकाश भट्टले बताए। उनले भने, ‘हार्डवेयरको सामानमा फलामे छड र सिमेन्टबाहेकेका सबै सामान भारतबाटै आयात हुन्छ।’

प्रदेश नम्बर ७ का महाकाली र सेती अञ्चल यातायात व्यवस्था कार्यालयको तथ्यांकका आधारमा सवा लाख सवारीसाधन दर्ता छन् ।

कैलाली र आसपासमा ती सवारीसाधनमा लाग्ने पार्टस तीन सयभन्दा बढी पसल छन्। ‘यी सबैजसो सामान भन्सार छलेर आइरहेका छन्’, कैलाली भन्सार कार्यालयका सूचना अधिकारी उप्रेतीले भने।

कैलाली भन्सार कार्यालयले साउन यता हार्डवेयरका सामानको तीन करोड ३० लाख, कपडाको १९ लाख, र मोटस पार्टसको ४६ लाख मात्रै भन्सार संकलन गरेको छ।

मासिक अनुपातमा ३४ करोड राजस्व संकलन लक्ष्य पाएको कैलाली भन्सार कार्यालयमा यी सामान नगन्य आउने गरेको भन्सार कार्यालयको ठहर छ।

प्रकाशित मिति: १६ चैत्र २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्