विमान दुर्घटनामा घाइते प्रिन्सी धामीको निधन


 


काठमाडौं, चैत १६
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा यूएस बंगालको विमान दुर्घटनामा परेर घाइते भएकी अछामकी प्रिन्सी धामीको उपचारको क्रममा निधन भएको छ ।

बंगलादेशमा एमबीबीएस अध्ययनरत अछाम मंगलसेनकी प्रिन्सी धामीको उपचारका क्रममा भारतको नयाँ दिल्लीमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

काठमाडौंको जमलमा रहेको भानुभक्त मेमेरियल स्कुलबाट एसएलसीमा डिस्टिङसन श्रेणीमा उत्तीर्ण प्रिन्सीले लैनचोरको निस्ट कलेजबाट विज्ञानमा ७४ प्रतिशत ल्याई उच्च मावि तह पास गरेकी थिइन्।

बंगलादेशको राजीव रवेया मेडिकल कलेजबाट एमबीबीएस अन्तिम वर्षको परीक्षा सकेर घर बिदाका लागि धामीलगायत १३ जना विद्यार्थी र अन्य यात्रु र चालक दल गरी ७१ जना सवार जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा दुर्घटना भएको थियो ।उक्त दुर्घटनामा यसअघि ४९ जनाको निधन भएको थियो ।

प्रकाशित मिति: १६ चैत्र २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्