छिमेकीलाई विकासमा साझेदार बनाउन भारत भ्रमण : प्रधानमन्त्री


 


– प्रकाश सिलवाल
काठमाडौँ, २० चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी मुलुकसँगको सम्बन्ध सन्तुलित, सुदृढ र विश्वासयुक्त बनाई नेपालको विकास र समृद्धिमा उनीहरुलाई साझेदार बनाउने क्रममा आफू भारत भ्रमणमा जान लागेको बताउनुभएको छ ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा आफ्नो आसन्न भारत भ्रमणबारे सार्वजनिक महत्वको वक्तव्य दिँदै उहाँले भारतका प्रधानमन्त्रीको मैत्रीपूर्ण निमन्त्रणामा यही चैत २३ गतेदेखि आफू तीनदिने भ्रमणमा जान लागेको जानकारी दिनुभएको हो । प्रधानमन्त्री ओलीले यही चैत २३ देखि २५ गतेसम्म मित्रराष्ट्र भारतको राजकीय भ्रमण गर्दै हुनुहुन्छ । मुलुकको समृद्धिका लागि छिमेकी भारत र चीनसँग सन्तुलित सम्बन्ध, भरपर्दाे, मैत्रीपूर्ण, समानता, पारस्परिक लाभ र विश्वासयुक्त वातावरणका आधार विकास गर्ने तथा छिमेकीलाई विकासका साझेदार बनाउने सरकारको अभीष्ट रहेको स्पष्ट पार्दै प्रधानमन्त्री ओलीले शंकारहित र भरपर्दाे मित्रता कायम गर्ने सरकारको नीति रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “छिमेकसँगको मित्रतापूर्ण सम्बन्ध, अहस्तक्षेपकारी नीति, संयुक्त राष्ट्रसंघको बडापत्र, नेपालको पञ्चशीलको आधार र राष्ट्रहित एवं न्यायपूर्ण सम्बन्ध हाम्रो छिमेक सम्बन्धको प्रस्थानबिन्दु हो । देशको शिर झुक्ने कुनै काम गरिनेछैन । शिर उठाउने काम मात्र गरिनेछ ।” भारतसँग पुरानो र घनिष्ट सम्बन्ध रहेको र कसैप्रति अर्घेल्याईं नगरी आफ्ना हितलाई राख्नुपर्ने उल्लेख गर्दै उहाँले दुई देशबीच सन् १९५० को सन्धिलगायत विषयमा पुनरवलोकन गर्न प्रबुद्ध व्यक्तिहरुको समूहले समीक्षा गरिरहेको बताउनुभयो ।

अब दुई मुलुकबीचको सम्बन्ध नयाँ उचाइमा पुग्ने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो । आफ्नो आसन्न भ्रमणलाई देश र जनताको अधिकतम हितमा कसरी उपलब्धिपूर्ण बनाउन सकिन्छ र आपसी सम्बन्ध थप मजबुत कसरी बनाउन सकिन्छ भन्ने विषयमा आफ्नो प्रयास हुने पनि उहाँले बताउनुभयो । रासस

 

प्रकाशित मिति: २० चैत्र २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्