संकटा विराट गोल्डकपको सेमिफाइनलमा प्रवेश


 


विराटनगर , २० चैत ।  विभागिय टिम सशस्त्र प्रहरी बललाई पाखा लगाउँदै संकटा क्लब काठमाडौं विराटनगरमा जारी विराट गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइन प्रवेश गरेको छ ।

विराटनगर स्थित सहिद रंगशालामा मंगलबार भएको संघर्षपूर्ण खेलमा सशस्त्रलाई १–० गोल अन्तरले पराजित गर्दै संकटाले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । संकटाको जितमा विदेशी खेलाडी जीब्रेल नायक बने । ६१ औं मिनेटमा उनको प्रहारले जाली चुम्दा संकटा भाग्यमानी ठहरियो । बंगलादेशको बंगलादेश स्पोर्टिङ फुटबल क्लब नआएपछि गोल्डकपमा मौका पाएको संकटाले शनिबार फाइनल प्रवेशका लागि मनाङ मस्र्याङ्दी र थ्री स्टारबीचको विजेतासंग प्रतिष्पर्धा गर्नु पर्नेछ ।

३० यार्ड टाढाबाट जीब्रेलले गरेको पावर सुटिङ प्रहारले पोष्टको दिशा लिंदा सशस्त्र दवावमा पर्यो । पहिलो हाफसम्म दुबै टिमले बराबरी खेलेका थिए । २०७० सालको विराट गोल्डकप विजेता संकटाले जित निकाल्नका लागि पहिलो हाफमा उत्कृष्ट प्रदर्शन गर्न सकेन । २८ औं मिनेटमा जीब्रेलको प्रहार क्रस बारमा लागेर फकिंदा संकटाले अग्रता लिने अवसर गुमायो । रिबाण्ड बललाई विदेशी खेलाडी फोडे फोफोनाले प्रहार गरे पनि त्यसले सही दिशा लिन नसक्दा कठिन जितका लागि संकटाले ६१ औं मिनेट सम्म कुर्न पर्यो ।

७९ औं मिनेटमा सुनिल खड्काको प्रहार दायाँ बार हुँदै बाहिरिंदा संकटाले दोस्रो गोल थप्न सकेन । पहिलो हाफमा एउटा पनि पोष्ट एट्याक गर्न नसकेको सशस्त्रले दोस्रो हाफपछि सुधारिएको प्रदर्शन गरे पनि नजिता आफ्नो पक्षमा पार्न सकेन । खेलको म्यान अफदी म्याच संकटाका जीब्रेल घोषित भए । उनले १० हजार रुपैयाँ नगद पुरस्कार पाए । बुधबार दुई विभागिय टोली नेपाल पुलिस क्लब र नेपाल आर्मीबीच प्रतिष्पर्धा हुने छ ।

 

प्रकाशित मिति: २० चैत्र २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्