मन्त्रीको गाडीमाथि नेविसंघद्वारा तोडफोड, सुरक्षा सतर्कता बढाइयो


 


सुर्खेत, चैत २१
प्रदेश नम्बर ६ का भौतिक पूर्वाधार विकास मन्त्री खड्क खत्रीको गाडीमा नेपाल विद्यार्थी संघ (नेविसंघ) मा संम्बद्ध विद्यार्थीले तोडफोड गरेका छन् ।

मध्यपश्चिमाञ्चल विश्वविद्यालयका कार्यवाहक स्ववीयू सभापति पक्राउको विरोधमा प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुले मन्त्रीको गाडीमा तोडफोड गरेका हुन् ।

मन्त्री खत्रीको बा २ झ १५६६ नम्बरको गाडीमाथि तोडफोड गरेपछि गाडीको अगाडि भागको सीसा फुटेको छ । यद्यपि, गाडीमा मन्त्री नभएर सांसद् धर्म रेग्मी सवार थिए ।

विद्यार्थीहरुको प्रदर्शनमा तोडफोड हुन थालेपछि सतर्कता अपनाइएको प्रहरीले जनाएको छ । पछिल्लो समय मध्यपश्चिमाञ्चलका विद्यार्थीहरु इन्जिनियररिङ संकायसँग सम्बन्धित विभिन्न मागहरु राखेर आन्दोलित हुँदै आइरहेका छन् ।

स्ववीयू र नेविसंघले राखेको मागको विपक्षमा एमाले र माओवादीनिकट विद्यार्थी उत्रिएका थिए । त्यसक्रममा दुईपक्षबीच झडपसमेत भएको थियो ।

प्रकाशित मिति: २१ चैत्र २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्