बैशाखभित्र उर्लाबारीलाई पूर्ण खोप नगर घोषणा गरिने


 


उर्लाबारी (मोरङ), २२ चैत ।  मोरङको उर्लाबारीलाई आगामी बैशाखभित्रै पूर्ण खोप नगरपालिका घोषणा गर्नका लागि बिहिवारदेखी प्रक्रिया सुरु गरिएको छ ।

नगरपालिका कार्यालयको स्वास्थ्य शाखाले बिहिवार योजना तर्जुमा तथा अभिमुखीकरण कार्यक्रम गर्दै नगरलाई आगामी बैशाखभित्रै पूर्ण खोप घोषणा गर्नका लागि प्रक्रिया सुरु गरेको हो । मोरङ जिल्लाका १७ वटा स्थानीय तह मध्ये उर्लाबारी नगरपालिकालाई मात्र पूर्ण खोप घोषणा गर्न बाँकी रहेको छ ।

मोरङ जिल्लालाई सन् २०१७ सम्ममा पूर्ण खोप जिल्ला घोषणा गर्ने भनिएपनि उर्लाबारीलाई घोषणा गर्न नसकिएका कारण सम्भव नभएको हो । अब बैशाखभित्र उर्लाबारी नगरपालिकालाई घोषणा गरिएपश्चात जिल्ला नै पूर्ण खोपयुक्त हुनेछ । नगरपालिकाका स्वास्थ्य शाखा संयोजक तोयाप्रसाद घिमिरेका अनुसार नगरमा शतप्रतिशत खोप लिएको तथ्यांक रहेकाले सबै पक्रिया पुरा गरेर बैशाखभित्रै एक समारोहको आयोजना गरी पूर्ण खोप घोषणा गरिनेछ ।

स्थानीय स्तरका सबै सरोकारवालाहरुको सहकार्यमा १५ महिना मूनिका सबै शिशुहरुलाई पूर्ण खोप उपलब्ध गराई बिभिन्न रोगबाट बचाउन सकिने, अपांगता र मृत्युदुरमा कमी ल्याउनु खोप कार्यक्रमको उदेश्य रहेको संयोजक घिमिरेले जानकारी दिनुभयो । अभिमुखीकरण कार्यक्रममा नगरका वडा अध्यक्ष, सदस्य, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: २२ चैत्र २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्