श्रीमतीलाई आगो लगाई मार्ने प्रयास


 


पर्सा, चैत २२

ग्रामीण भेगमा दाइजोको निहुँमा एक १८ वर्षीया युवतीको जिउमा आगो लगाई ससुराली पक्षले मार्ने प्रयास गरेको घटना सार्वजनिक भएको छ ।

पर्साको छिपहरमाई गाँउपालिका–४ तुलसिवर्वाकी रविना खातुनलाई उनकै श्रीमान साविर मियाँ धोबी र सासूससुराले जिउमा आगो लगाई मार्ने प्रयास गरेका हुन् ।

रविनासँग रहेको सुनको गहना लिई घरबाट निकाल्न खोज्दा उनले ससुराली पक्षको प्रतिरोध गरेपछि ससुराली पक्षले जीउमा आगो लगाई मार्ने प्रयास गरेको रविनाले प्रहरीलाई जानकारी दिएको प्रहरी नायब उपरीक्षक राजन लिम्बूले बताउनुभयो ।

यही चैत १३ गते श्रीमान् साविर, ससुरा फरजन मिया धोवी, सासू शोभा खातुन लगायतका ससुराली पक्षले कुटपिट गरी शरीरमा आगो लगाएको घटना भएपनि आज सार्वजनिक भएको हो ।

नौ दिनसम्म घरमा लुकाई राखिएकी रविनाले आज उम्किन सफल भई जिल्ला प्रहरी कार्यालयको महिला सेलमा सम्पर्क गरेपछि उनलाई उचारका लागि वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा भर्ना गराइएको छ ।

रविनाको कम्मरदेखि तल शरीरको दाहिने भाग जलेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् । रविनाको दाहिने खुट्टा र कम्मरमा आगोले जलेर भएको घाउ उपचार अभावमा बिग्रिएको चिकित्सकको भनाइ छ ।

रविनाले दिएको उजुरको आधारमा प्रहरीले अनुसन्धानलाई अगाडि बढाउनुको साथै ससुराली पक्षलाई जिल्ला प्रहरी कार्यालय पर्सामा उपस्थित गराउन मातहतका प्रहरी चौकीलाई निर्देश दिएको नायब उपरीक्षक लिम्बूले जानकारी दिनुभयो ।

भारतको दिल्लीमा काम गर्ने रविनाका श्रीमान साविरले उतै कान्छी राखेको र कान्छीबाट एउटा छोरो समेत रहेको रविनाले प्रहरीलाई बताएको प्रहरीको भनाइ छ । विवाह भएको तीन वर्ष बित्दा समेत रविना आमा बन्न नसकेपछि साविरले कान्छी भित्र्याइ घरबाट निकाल्न खोजेको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ । रासस

प्रकाशित मिति: २२ चैत्र २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्