मनाङलाई हराउँदै थ्रीस्टार विराट गोल्डकपको सेमिफाइनलमा


 


बिराटनगर, २२ चैत । थ्रीस्टार क्लब विराटनगरमा जारी बिराट गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बिहीबार बिराटनगरस्थित शहिद मैदानमा सम्पन्न खेलमा थ्रीस्टारले एक गोलले पछि परेको स्थिति उल्टाउँदै चिरप्रतिद्वन्द्वी मनाङ मस्र्याङ्दी क्लबलाई २–१ ले हराएर अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो । रोमाञ्चक खेलमा शुरुवाती अग्रता लिएर पनि त्यसलाई जोगाउन नसक्दा मनाङ पराजित हुन पुग्यो । मनाङले खेलको १९ औं मिनटमा विशाल राईको गोलबाट शुरुवाती अग्रता लिएको थियो । तर अन्तिम २० मिनट सम्हालिन नसक्दा मनाङ पराजित हुन पुग्यो ।

खेलको ७२ औं मिनटमा थ्रीस्टारले पेनाल्टीको अवसर पाएको थियो । जसलाई कुनै गल्ती नगरी बिमल घर्तीमगरले गोलमा परिणत गरेका थिए । त्यस्तै बराबरी गोल गरेको पाँच मिनट बित्न नपाउँदै थ्रीस्टारले दोस्रो गोल गरेको थियो । खेलको ७५ औं मिनटमा मार्टिन्सले निर्णायक गोल गर्दै थ्रीस्टारलाई रोमाञ्चक जित दिलाए । मनाङमाथि थ्रीस्टारको यो लगातार तेस्रो थियो ।

यसअघि बुटवलमा सम्पन्न २० औं तिलोत्तमा गोल्डकपको सेमिफाइनलमा र तेस्रो मदन भण्डारी गोल्डकपको फाइनलमा थ्रीस्टारले मनाङलाई हराएको थियो । खेलमा निर्णायक गोल गरेका थ्रीस्टारका मार्टिन्स म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तरगत शुक्रबारको पहिलो सेमिफाइनल खेल रमपम झापा – ११ र त्रिभुवन आर्मी क्लबबीच हुने आयोजकले जनाएको छ ।

 

प्रकाशित मिति: २२ चैत्र २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्