दुःखले नदुखाएका महाकवि


 


अनिल पोख्रेल

चकित छु जो ती सहिद भएका छन्
धर्मका खातिर
तिनका आँट देखेर म काँपेको छु,
अब किञ्चित् काँप्दिन ।
म पनि धर्मका खातिर सहिद हुन सक्नेछु ।
प्रेम मेरो धर्म हो
र म त्यसका निम्ति मर्न तयार छु,
तिम्रा निम्ति ।john-keatss-quotes-2
अङ्ग्रेजी साहित्य भण्डारलाई समृद्ध र सबल बनाउने दुर्लभ कविहरुमध्ये जोन किट्सको नाम अग्रपङ्क्तिमा आउँछ । पाश्चात्य साहित्यको प्रसङ्ग उठाउँदा यिनलाई छुटाउनु भनेको अज्ञानता नै हुन्छ ।

किनकि उनको परिचर्चाविना त्यस्तो प्रसङ्ग अधुरो रहिरहन्छ । प्रकृतिवादी विश्वविख्यात यी कविलाई ‘धरतीका कवि’ उपनामले पनि चिन्ने गरिन्छ ।

कल्पनाशक्तिको उडान र प्रखर लेखनशैलीको संयोजनले यिनलाई कलिलो उमेर मै विख्यात कविको लहरमा उभ्यायो । यिनी २६ वर्षको कलिलो उमेरमा अङ्ग्रेजी साहित्यको महाकविको उपाधि धारण गर्न सफल भए ।

किट्सको जन्म सन् १७९५ मा बेलायतका एक साधारण सइस (घोडाको हेरचाह गर्ने) परिवारका छोराको रुपमा भएको थियो । कविता लेख्दाको आनन्द लिनुबाहेक यिनको जीवनले कहिल्यै सुखको अनुभूति गर्न पाएन ।

यिनी आठ वर्षको हुँदा घोडाबाट लडेर बाबुको र १५ वर्ष हुँदा क्षयरोगबाट आमाको मृत्यु हुनुले उनको जिन्दगी नै दुःखको पर्याय थियो भन्न सकिन्छ । किट्सका दुई भाइ र एक वहिनी थिए ।

आमा–बाबु मरेपछि उनको टुहुरो परिवारलाई हजुरआमाले सम्हालेकी थिइन् । दुःखद् जीवन व्यतित गरेका किट्स सदैव कल्पनामा मात्र डुबिरहन्थे ।

त्यसैले उनले साहित्य सिर्जनातिर कलम चलाउन थाले । तथापि, उनको परिवार र छिमेकमा त्यस्तो बौद्धिक वातावरण थिएन, न त प्रेरणा दिने कुनै व्यक्ति नै थिए ।

उनले १४ वर्षको उमेरदेखि नै आफ्नो लेखन शिल्पलाई प्रखर बनाउँदै लगे । कल्पनाशीलता एवम् प्रकृतिसँगको सानिध्यताकै कारणले उनले २१ वर्षको उमेरमा अर्थात् सन् १८१६ मा ‘इन्डिमियोन’ नामक चार हजारभन्दा बढी हरफ भएको कविता प्रकाशन गरेर आफ्नो खुबी प्रदर्शन गरे ।

यो कवितामा एउटी आदर्श जीवनसङ्गिनीको खोजीको ययार्थ तस्बिर पाउन सकिन्छ । दुःख एवम् अन्तर्मनको पीडा भोग्दै बाँचेका किट्सलाई २३ वर्षको उमेरमा झन् थप निराशाहरुले घेर्न थाले ।

छोटा कदका फुर्तिला किट्स बाहिरमा देख्नमा हट्टाकट्टा भए पनि मानसिक तनावका कारण भित्रभित्रै गल्दै गए । यसपछि उनको जीवनप्रतिको दृष्टिकोण पूर्णरुपमा निराशावादतिर धकेलियो ।

उनका अधिकतर रचनामा सांसारिक रमझम क्षणिक हो भन्ने किसिमका भावहरु पाइन्थ्यो । उनको प्रसिद्ध कृति ‘ओड टु नाइटिङ्गेल’ यसको ज्वलन्त उदाहरण हो ।

कान्छा भाइ टमको निधनपछि उनी आयरल्यान्ड र स्कटल्यान्डको प्राकृतिक यात्रामा निस्किए । उनलाई त्यस भेगको चिसो हावाले असर गर्न थाल्यो र घाँटीमा क्यान्सर पनि भयो ।

उनलाई क्षयरोगले समेत ग्रसित पार्न थाल्यो । बेलायतको कडा जाडोबाट बच्न किट्स युरोपको न्यानो मुलुक इटालीतिर गए । त्यहाँको हावापानीले उनको स्वास्थ्यमा क्रमिक रुपमा सुधार आउन थाल्यो ।

सत्य नै सुन्दर हो र सुन्दर नै सत्य हो भन्ने दृढ विचारका धनी किट्स अंग्रेजी साहित्यका सदावहार कवि हुन् । उनले जीवनमा दुःख, पीडा र निराशा मात्र भोग्नुप¥यो । उनको साहित्यिक यात्रा फस्टाउनमा यस्ता निराशाले मलजलको काम ग¥यो ।

दुःखैदुःखको संसारमा हुर्केका किट्सको २६ वर्षको अल्पायुमा अर्थात् सन् १८२१ मा क्षयरोगकै कारण दुःखद् अवसान भयो । यसरी एउटा अंग्रेजी साहित्यका अत्यन्त प्रखर र धुरन्धर तथा होनहार प्रकृतिवादी एवम् रोमान्टिक कविको दुःखद् अन्त्य भयो ।

यिनका समकालीन कविहरुमा लर्ड बाइरन, विलियम वर्डस्वर्थ, स्यामुएल टेलर कोलेरीज, पीब. शेली थिए । यिनका प्रसिद्ध कृतिहरुमा इन्डिमियोन, हाइपेरियोन, लामिया, द इभ अफ सेन्ट एग्नेस, इसाबेला, ओड टु ग्रेसियन अन, ओड टु नाइटिङ्गेल, ओड टु मेलानकोली पर्दछन् ।

किट्सको भौतिक देह हाम्रा सामु नभएपनि उनी विश्वसाहित्यमा अत्यन्त श्रद्धेय र अमर छन् । किट्सका महानतम् साहित्यिक कृतिहरु सदैव साहित्याकाशमा उडान भरिरहने छन् ।

उनीसँग पाठकहरु पनि उनका कवितात्मक रसमाधुर्यमा भिज्दै कल्पनाशीलताको उडान भरिरहेका हुन्छन् । नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटा प्रत्यक्षरुपमा जोन किट्सबाट प्रभावित थिए भनिन्छ किनकि  देवकोटाका कविताहरुमा पाइने प्रकृतिवादी चिन्तनमा स्पष्ट रुपले किट्सको छाप पाउन सकिन्छ ।

प्रकाशित मिति: २४ भाद्र २०७२, बिहिबार

प्रतिक्रिया दिनुहोस्