कविता-कुर्सीको व्यापार गर्नेहरू


 


min kumar
मीनकुमार नवोदित

यसबेला
तराईको सिउँदो पुछिएको छ
मानवताविरोधी नारा
सडकको छातीभरि गुन्जिरहेछ
कतै आफैंविरुद्ध
कतै अरुविरुद्ध
सडक जलिरहेछ नमीठो गरी ।

यतिबेला मानवताको गीत गाउने
शान्तिको नारा लाउने
खै कता गए ?
जताततै हिंसाको आगो बलिरहेछ
र पनि सत्ताको कम्मल ओढेर सिंहदरबार
कुम्भकर्ण निद्रामा छ ।

तराई यसबेला त्रासको छाता ओढेर
सुरक्षाको छहारी खोजिरहेछ
दिनदिनै असुरक्षित राजमार्ग
अपुताली परेको घरझैं सुनसान छ
अहिले तराई जलिरहेछ
भोलि हिमाल पहाड जल्न के बेर !

यस्तो अशान्तिको
आगो दन्किरहेको बेला पनि
एकताको पहाड ढल्दा पनि
कोही कतैबाट बोल्दैनन्
अरुमाथि नै दोषको हिलो छाप्दै
आफू बाँच्ने चाहना बोकेर
भ्रमको पुल तरिरहेछन्
दूषित रंगहरूको हिंसा फैलाएर
कुर्सीको व्यापार गर्नेहरू
सक्रिय छन् यसबेला गाउँबस्तीमा
तिनीहरूदेखि होसियार दुःखीलाल !
तिनीहरूदेखि सावधान सुखीलाल !
भड्काउनेदेखि होसियार धनबहादुर !
उक्साउनेदेखि सावधान मनबहादुर !

प्रकाशित मिति: २७ भाद्र २०७२, आइतबार

प्रतिक्रिया दिनुहोस्