दोस्रो बिहेको तयारी गर्दै म्याराडोना


 


maradonaदुबई, भदाै २८

अर्जेन्टिनी लिजेन्ड डिएगो म्याराडोना दोस्रो विवाहको तयारीमा लागेका छन् । प्रेमिका रोसिओ ओलिभासँगको चारवर्षे प्रेम–सम्बन्ध विवाहका रूपमा परिणत गर्न लागिएको म्याराडोनाले अर्जेन्टिनी मिडियालाई जानकारी दिए ।

म्याराडोना प्राय: आफ्नो विवादित पक्ष लुकाउन खोज्छन् । सकेसम्म नराम्रा कुरा मिडियामा नआओस् भन्ने चाहना म्याराडोनाको छ । तर, यसपटक म्याराडोना स्वयंले दोस्रो विवाहको प्रसंग निकालेपछि यसलाई आश्चर्यजनक रूपमा लिइएको छ ।

अर्जेन्टिनी मिडियाका अनुसार म्याराडोनाले पूर्वश्रीमती क्लाउडियो भिलाफानेलाई देखाउन पनि दोस्रो विवाह चर्चा गराएका हुन् । म्याराडोनाले सन् २००३ मा भिलाफानेसँग डिभोर्स लिएका थिए ।

म्याराडोना र भिलाफानेका दुई छोरा छन् । म्याराडोनाले अन्य तीन महिलासँग सम्बन्ध राख्दै तीन छोरी जन्माएका छन् । १२ वर्षसम्म एकल जीवन बिताउन गाह्रो भएपछि विवाह गर्न लागेको म्याराडोनाको भनाइ छ ।

‘एक्लो जीवन धेरै भयो, अब मलाई साथीको आवश्यकता छ,’ म्याराडोनाले भने । म्याराडोनाकी प्रेमिका ओलिभाले यसै वर्षको अन्त्यसम्म विवाह हुने स्पष्ट पारिन् ।

‘सम्भवत: वर्षको अन्त्यसम्म हामी एक हुन्छौँ,’ ओलिभाले भनिन्, ‘हामीले सोचेजस्तो भए विवाह डिसेम्बरसम्ममा हुनेछ ।’ पछिल्लो समय म्याराडोना र ओलिभा दुबईमा बस्दै आएका छन् । दुबईमा म्याराडोनालाई एक सम्मानित फुटबलरका रूपमा लिइन्छ ।

म्याराडोनाले पनि ओलिभालाई श्रीमतीका रूपमा भित्र्याउन सबै तयारी भइसकेको जनाएका छन् । नयाँ पत्रिकाबाट

प्रकाशित मिति: २८ भाद्र २०७२, सोमबार

प्रतिक्रिया दिनुहोस्