जहाँका मानिसहरु अझै सल्लाको झरोले रात गुजार्छन्, के गर्छन् जनप्रतिनिधि ?



बाजुरा, जेठ १८
बाजुराका अधिकांश स्थानीय तहका स्थानीयवासी सल्लाको रुखबाट निकालिएको झरो बाल्न बाध्य भएका छन् ।

स्थानीय तहको निर्वाचन भएको एक वर्ष बित्न लाग्दा पनि जनप्रतिनिधिले कुनै काम नगरेको भन्दै स्थानीयवासी आक्रोशित बन्दै गएका छन् ।

जिल्लाको दुर्गम क्षेत्रमा रहेको हिमाली गाउँपालिकाका करीब ९१ प्रतिशत स्थानीयबासी अझै झरो बाल्नुपर्ने वाध्य भएका छन् । जिल्लाका नौवटै स्थानीय तहमध्ये हिमाली गाउँपालिकामा ठूलो संख्यामा नागरिकले हालसम्म पनि विद्युत् सेवा नपाएपछि झरो बाल्न बाध्य भएको बताइएको छ ।

हिमाली गाउँपालिका–६, पाडीका १४५ घरपरिवारबाहेक अरु सबैको उज्यालोको स्रोत नै सल्लाको रुखबाट निकालिएको झरो, टुकी रहेको स्थानीयले गुनासो गरेका छन् । छोराछोरीलाई विद्यालयबाट दिएका गृहकार्य र अध्ययन गर्नका लागिसमेत झरोको टुकी बनाउँदै पढाउनु पर्ने बाध्यता रहेको बताइएको छ ।

विद्यालयमा जाने अधिकांश बालबालिका रातिको समयमा झरो बाल्दै किताब पढ्ने गरेका छन् । बिहानको समयमा घरको काम गर्न जाने हुँदा राति नै झरोको टुकी बनाएर गृहकार्य गर्ने गरेका छन् ।

हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर मल्लले आफ्नो कार्यकालमा हिमाली गाउँपालिकामा स्थानीयवासीलाई विद्युत् निर्माण गरी झरोको समस्या हटाउने बताउनुभएको छ । उहाँले गाउँपालिकाका दुर्गममा भएको र बस्तीसमेत आवतजावत गर्न कठिनाइका कारण गाउँपालिकामा कम गुनासा आए पनि विद्युत् निर्माणका लागि पहल भइरहेको अध्यक्ष मल्लले बताउनुभयो ।

हिमाली गाउँपालिकाका एक हजार ६९७ परिवारमध्ये १४५ परिवारले मात्र बत्ती बाल्ने गरेका छन् । यसैगरी, बूढीगंगा नगरपालिका वडा नं २ र ३ का करीब ५०० परिवार अध्याँरोमा बस्दै आएका छन् । लामो समयदेखि उक्त परिवारले वनबाट सल्लाको रुखको झरो बनाउँदै दैनिकी गुजार्दै आएको बूढीगंगा नगरपालिका–२ का खडकराज जोशीले बताउनुभयो । विद्युत् बाल्ने सपना अहिलेसम्म पूरा नभएको जोशीको भनाइ रहेको छ ।

गरीब परिवारको झरो नै उज्यालोको सहारा बन्दै गएको छ । प्रतिनिधिसभाका सदस्य तथा पूर्वमन्त्रीको गाउँका स्थानीय समेत झरोको भरमा रहेको स्थानीय जीतबहादुर बूढ्थापाले बताउनुभएको छ ।

बूढीगंगा नगरपालिकाका साविकको बाह्रबिस र कुल्देवमाण्डौं गाविसमा विद्युत् भएपनि ब्रह्मतोला गाविसका स्थानीय भने झरो बाल्दै आइरहेका छन् ।

जिल्लाका नौमध्ये सातवटा स्थानीय तहका करीब ९० प्रतिशत घरधुरी विद्युत्को पहँुचमा रहेको र जिल्लामा हाल करीब एक हजार ५०० किलोवाट विद्युत् उत्पादन भइरहेको बताइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News