कविता – भुइँचालो र ज्योतिष


 


Pradip-Nepal-1
प्रदीप नेपाल

भुइँचालो आयो
त्रासमा डुबाउँदै सबैलाई
गाईहरुको ड्वाँसँग जोडिएर
कुकुरको भोँसँग टाँसिएर
घरहरुलाई लचक लचक हल्लाउँदै
भुइँचालो आयो

कसैले भने
यो नब्बे सालको नयाँ अनुहार हो
यो पैँतालिस सालको दाजु हो
यसरी भुँँइचालो आयो ।

पहिलो धक्कामा महाविनाश बोकेको
भुँइचालो एक्कासी महाभुकम्प भयो
आकासमा त्रास छायो
भुइँमा आतङ्क आयो
मन्दिर भास्सिए, मान्छे मारिए
दिन त्रास भयो, रात आतङ्क भयो
फेरि बिहान आउनु थियो
त्यो पनि भुँइचालो लिएर आयो

‘आजतक’ ले भन्यो रे
तीन रात तीन रात भुकम्प गइरहन्छ
‘बीबीसी’ ले भन्यो रे
अब नौ रिक्टरस्केलको भुकम्प जान्छ
गलामा गुँएलोको माला लाएर आएका
यस्ता रे हरुलाई हिस्स पार्दै
एक्कासी घोप्टियो आकासको आरी
सडकमा, चहुरमा

बेसहारा टुहुरा नागरिकतिर हेर्दै
भुइँचालोले भन्यो,
‘अब म गएँ है !’
भुइँचालो गयो
तर ज्योतिषहरु गएनन्

प्रकाशित मिति: २ आश्विन २०७२, शनिबार

प्रतिक्रिया दिनुहोस्