३३ किलो सुन काण्डलाई पूर्णविराम लगाउने चलखेल


 


काठमाडौं, साउन २६
सुन तस्करबारे छानविन गर्नबनेको छानविन समितिले ३३ किलो सुन काण्डबारे तयार पारेको प्रतिवेदन अहिले गुमनाम पारिएको छ ।

समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हालै प्रतिवेदन बुझाएको थियो । उक्त प्रतिवेदनबारे अहिलेसम्म चाइँचुइँ भएको छैन । नेपाल समाचारपत्रमा खबर छ ।

करिब तीन महिनासम्म देशको चर्चित प्रमुख खबर नै उक्त सुन काण्ड बनेको थियो । तर सो प्रकरणमा नेकपा र नेपाली कांग्रेसका उच्च तहको नेताको संलग्नता रहेको खुल्दै गएपछि प्रतिवेदनकै चर्चा हुन छाडेको छ ।

समितिले ३ सय भन्दा धेरैमाथि थप अनुसन्धान गर्नुपर्ने प्रतिवेदनमा औंल्याएको कुरा बाहिर आएको थियो । केही चर्चित व्यक्ति समेत फस्ने भएपछि यसलाई गुपचुप राख्न खोजिएको जानकारहरुको आरोप छ ।

टोलीले प्रतिवेदन बुझाएसँगै यो प्रकरणलाई विभिन्न बहानामा अन्यत्र मोड्ने अथवा घटनाक्रमलाई मुख्य दोषीसमक्ष नपुर्याई पूर्णविराम लगाउने चलखेल भएको समाचारस्रोतको दाबी छ ।

बारम्बार आफूहरु ठूला माछाको नजिक पुगेको बताइरहने गृहमन्त्री राम बहादुर थापा पनि प्रतिवेदन बुझाइएपछि मौन छन् ।

स्रोतका अनुसार, यही काण्डमा केही पहिले पक्राउ परेका विमल पोद्दारले छानविन समितिसमक्ष केही नेतको नाम पोलेपछि यो विषय गुमनाम पार्न खोजिएको बताइन्छ ।

प्रकाशित मिति: २६ श्रावण २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्