बोक्सी आरोपमा निर्घात कुटिएकी राधालाई अझै सहज छैन गाउँ


 


अंकुश कुँवर
धनगढी, साउन २६
गत वर्षको फागुन २४ गते नारी दिवसकै दिन बोक्सीको आरोपमा निर्घात कुटिएकी कैलालीको घोडाघोडी नगरपालिकाको देउकलियाकी राधा चौधरीलाई गाउँमा घुलमिल हुन अझै समस्या भइरहेको छ । २० वर्षीया चौधरीलाई बोक्सी आरोपमा एक स्थानीय भोलेबाबा भन्ने रामबहादुर चौधरी र प्रावती चौधरीले निर्घात कुटपिट गरेका थिए ।

गाउँलेकै अगाडि निर्घात कुटिएपछि राधालाई उद्दार गरेर धनगढीमा उपचार र त्यसपछि एकाध महिना महिला पुनस्थापना केन्द्रमा राखिएको थियो । त्यसपश्चात प्रमुख जिल्ला अधिकारीललगायत विभिन्न सरोकारवाला निकायको पहलमा देउकलियामै एक वृहत कार्यक्रमको आयोजना गर्दै राधालाई गाउँमै पुनस्थापना गरिएकोे थियो ।

राधालाई गाउँमै पुनस्थापित गरेपनि उनलाई अझै गाउँमा बस्न भने सहज नभइसकेको पाइएको छ । राधालाई अझै पनि गाउँका कतिपय मानिसहरुले भूत लाग्यो भनेर सुनाउने गरेका छन् । ‘घटना हुनु अघिसम्मको अवस्था आइसकेको छैन’ राधा दुखेसो पोख्दै भन्छिन्, ‘कतिपय मानिसहरुले मलाई नै सुनाएर भूत लाग्यो, बोक्सी लाग्यो भनेर मुखमै सुनाउने गरेका छन् ।’

गाउँमा मात्रै नभई राधालाई विद्यालय जान पनि अहिले त्यति सहज स्थिति सृजना भइसकेको छैन । आफूलाई देखेपछि पहिलेका केही साथीहरुले बोल्नै छोडेका उनी बताउँछिन् । ‘साथीहरुसंग मलाई पनि पहिलेको जस्तै गरि बोल्ने आँट पनि आउँदैन, केही साथीहरुले बोल्नै छोडिसके’ उनी भन्छिन्, ‘म पनि कोही बोल्ने साथीहरु भए बोल्छु, नभएर आफै बोल्न जान पनि अप्ठेरो लाग्छ अहिले ।’ राधा अहिले घोडाघोडी नगरपालिकाकै राष्ट्रि उच्च माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत छिन् ।

बोक्सी आरोपमा कुटिएपछि राधा गाउँमा गएपनि पहिलेको वातावरण पाउन मुस्किल परेको छ । गाउँ र विद्यालयमा उनलाई सहज वातावरण नभएको उनका भनाईहरुबाट प्रष्ट हुन्छ ।

पछिल्लो अवस्थाका बारेमा बताउँदै राधाकी आमा फूलकेशरी चौधरीले पनि छोरीका लागि गाउँ पहिलेको जस्तो नरहेको बताइन् । उनले छोरीलाई गाउँ समाजका केही मानिसले यस्तो भन्यो, उस्तो भन्यो भनेर सुन्दा दुःख लाग्ने गरेको बताइन् । ‘कसैले केही भन्यो भनेपनि चुपचाप बस्नुपर्छ, सुनेपनि नसुनेझैं गर्नुपर्छ’ उनले दुखेसो पोखिन् ।

कक्षा १२ मा भर्खर पढ्न जान थालेकी राधाको भर्ना अझै भएको छैैन । विद्यालयमा अहिले भर्र्ना गर्ने कार्य भइरहेको छ । पहिले विभिन्न संघ–संस्थाबाट शिक्षा दिक्षाको आश्वासन पाएकी राधाले कक्षा ११ को परीक्षा फाराम पनि आफै तिरेकी थिइन् ।

अहिले कक्षा १२ को भर्नाका लागि पनि उनलाई कसैले सम्पर्क गरेका छैनन् । ‘घटना भएका बेला धेरैले थुप्रै काममा सहयोग गर्ने भनेर आश्वासन दिएका हुन्’ उनी भन्छिन्, ‘अहिले कक्षा १२ को भर्ना गर्ने काम सुरु भइसकेको छ, अहिलेसम्म मलाई कसैले सम्पर्क गरेका छैनन् ।’ उनले थप भनिन्, ‘सरहरुले भने तिम्रो निःशुल्क भर्ना हुन्छ भन्नुभएको छ, तर, के हुन्छ मलाई थाहा छैन ।’

बोक्सीको आरोपमा कुटिएपछि राधालाई केही संघ–संस्थाहरुले निःशुल्क पढाउनेलगायतका काममा सहयोग गर्ने आश्वासन दिएका थिए । राधाको परिवारमा आमा, बुवा, दाई, एक भाई र एक बहिनी छन् । तर, कमजोर आर्थिक अवस्थाका कारण अहिले राधाका बुवा, दाई र भाई भारतमा काम गर्न गएका छन् । अहिले राधासहित आमा र बहिनी मात्रै घरमा बस्छन् ।

नम्र स्वभाव भएकी राधामाथि लगाइएको आरोप र कुटपिटले सबैलाई स्तब्ध बनाएकोे थियो । महिलाका हक अधिकारकोे आवाज उठाउनै दिनमै राधामाथि भएको कुटपिटले समाज कति अन्धविश्वासमा छ भन्ने कुरालाई झल्काएको थियो ।

राधाको कुटपिटमा संलग्न भएका सोही ठाउँका आफूलाई भोलेबाबा बताउने रामबहादुर चौधरी, राधा चौधरी र किस्मती चौधरी अहिले जेल जीवन विताइरहेका छन् । घटनापछि पक्राउ परेर छोडिएका उनीहरुलाई व्यापक जनदबाबपछि फेरि पक्रेर प्रहरीले मुद्दा दायर गरेको थियो ।

प्रकाशित मिति: २६ श्रावण २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्