भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह


 


काठमाडौँ, साउन २६

पश्चिमका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको भन्दै त्यहाँका वासीन्दालाई सतर्क रहन आग्रह गरिएको छ । मौसम पूर्वानुमान महाशाखाले आज पूर्वानुमानसम्बन्धी बुलेटिन निकालेर पश्चिमका एक वा दुई स्थानमा अति भारी वर्षा तथा पश्चिमका केही स्थान र पूर्व र मध्यका एक÷दुई स्थानमा भारी वर्षाको सम्भावना औँल्याएको हो ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बद्ली रही देशका धेरैजसो स्थानमा हल्कादेखि मध्यम खालको वर्षा भएको छ भने रातको समयमा पनि बद्ली र वर्षा हुनेछ । आइतबार पनि देशभर सामान्यदेखि पूर्ण बद्ली रही देशका धेरैजसो स्थानमा हल्कादेखि मध्यमखालको वर्षा हुने तथा रातको समयमा पश्चिमका केही स्थान र मध्य र पूर्वका एक÷दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

बितेको २४ घण्टामा काठमाडौँमा ४५ मिलिमिटर वर्षा भएको छ । सबैभन्दा बढी विराटनगरमा ५५ मिलिमिटर वर्षा भएको छ भने पोखरामा ४३ मिलिमिटर वर्षा भएको महाशाखाको विवरणमा उल्लेख छ । आज काठमाडौँको अधिकतम तापक्रम २९ र न्यूनतम तापक्रम २० डिग्री सेल्सियस रहेको छ । रासस

प्रकाशित मिति: २६ श्रावण २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्