झापाका पाँच नगरपालिका सहकार्य गर्दै अघि बढ्ने


 


झापा, साउन ३०

फोहरमैला व्यवस्थापन गर्न झापाका पाँच नगरपालिका सहकार्य गर्दै अघि बढ्ने भएका छन् । फोहरमैला मुख्य चुनौतीका रुपमा देखिन थालेपछि त्यसको व्यवस्थापनसँगै ‘फोहरलाई मोहर’ बनाउन नगरपालिका एकजुट भएका हुन् ।

झापाको कनकाई, बिर्तामोड, अर्जुनधारा, शिवसताक्षी र मेचीनगर नगरपालिका फोहर व्यवस्थानका लागि एकजुट भएर अघि बढ्ने गृहकार्य भइरहेको कनकाई नगरपालिकाका नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले जानकारी दिनुभयो । कुहिने र नकुहिने फोहरलाई चार भागमा वर्गीकरण गरेर व्यवस्थापन गरिने उहाँले बताउनुभयो ।

कुहिने फोहर, प्लास्टिकजन्य फोहोर, कागज र धातुजन्य फोहोर गरी चार भागमा वर्गीकरण गरिने भएको हो । कुहिने फोहरबाट बायोग्यास र प्लाष्टिकजन्य फोहरबाट पेट्रोलियम पदार्थ निकालिने जनाइएको छ । बायोग्यास उत्पादनका लागि चार हजार घनमिटर क्षमताको प्लान्ट स्थापना गरिने भएको छ । सो कार्यका लागि रु १६ करोडको लागत लाग्ने र विश्व बैंकले ४० प्रतिशत अनुदान दिने भएको छ । बाँकी ६० प्रतिशत नगरपालिका र स्थानीयवासीबाट लगानी गरिने नगरप्रमुख पोखरेलले जानकारी दिनुभयो । रासस

प्रकाशित मिति: ३० श्रावण २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्