वर्तमान सरकार जनताकै सरकार र जनताप्रति समर्पित : प्रचण्ड



काठमाडौँ, भदौ १

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पाँच वर्षभित्र समृद्ध नेपालको गोरेटो कोर्नुको विकल्प नभएको बताउनुभएको छ ।

नेपाल मण्डल पर्यटन नगरीले आज नेपाल कला परिषद्,बबर महलमा आयोजना गरेको नेपाल मण्डल पर्यटन महोत्सव तथा ‘टिस्टा, काँगडा नेपाल एकीकरण, वीर योद्धाको सम्मान र सम्झना’ विषयक राष्ट्रिय चित्रकला प्रदर्शनीको उद्घाटन गर्दै उहाँले सबै राजनीतिक शक्ति, नागरिक समाजको सहयात्रा, सहकार्य र एकताबिना ऐतिहासिक युग निर्माण गर्ने काम सम्भव नभएको बताउनुभयो ।

अध्यक्ष दाहालले भन्नुभयो, “तराई मधेश, पहाड र हिमाललाई एकापसमा जोड्ने तथा नयाँ सन्दर्भमा त्यसलाई सुदृढ गरी राजनीतिक उद्देश्यका निम्ति लामबद्ध गर्न र देश निर्माणको महान् अभियानमा फेरि एकचोटी सबैलाई एकताबद्ध गर्नु आजको ऐतिहासिक आवश्यकता हो ।”

वर्तमान सरकार जनताकै सरकार र जनताप्रति समर्पित भएको विश्वास दिलाउने ऐतिहासिक जिम्मेवारी वर्तमान नेतृत्वको काँधमा आएको बताउँदै अध्यक्ष दाहालले भन्नुभयो, “जनताको आकांक्षा सम्बोधन गर्न सरकारका कामकारवाहीबारे सच्याउने आँट गर्नुपर्छ ।”

धेरै अप्ठ्यारा र जटिलताका बीचबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना हुँदै जारी भएको संविधानमा समावेशी र समानुपातिक सिद्धान्तलाई आत्मसात् गरिएको उल्लेख गर्दै उहाँले ७० वर्षकोे इतिहासमा नेपालमा कुनै पनि सरकार पाँच वर्ष नटिकेको कटु अनुभवलाई चिर्दै स्थिर सरकार गठन गरी आर्थिक विकास र समृद्धितर्फ मुलुकलाई लैजाने उद्देश्यले वर्तमान सरकार गठन गरिएको बताउनुभयो ।रासस

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News