झापामा स्वास्थ्य बीमा प्रभावकारी बन्दै


 


झापा, भदौ ५

झापामा स्वास्थ्य बीमा गर्नेमध्ये आधा हिस्साले स्वास्थ्योपचार गरेका छन् । सरकारले झापामा २०७४ असोजदेखि स्वास्थ्य बीमा लागू गरेको हो ।

गत असोजदेखि हालसम्मको ११ महिनाको अवधिमा स्वास्थ्य बीमा गर्नेको सङ्ख्या एक लाख २२ हजार ३०५ पुगिसकेको जिल्लास्थित स्वास्थ्य बीमा बोर्डकी दर्ता अधिकारी लक्ष्मी कँडेलले जानकारी दिनुभयो । उहाँका अनुसार बीमा गराएकामध्ये ५० हजार ५४९ जनाले जिल्लाका विभिन्न स्वास्थ्य संस्थाबाट उपचार सेवा लिइसकेका छन् ।

दमकस्थित आम्दा अस्पतालले सबैभन्दा बढी १७ हजार ६०० जनालाई गत एक वर्षको अवधिमा बीमामार्फत उपचार सेवा प्रदान गरेको जनाएको छ । जिल्लाको १५ वटै स्थानीय तहमा स्वास्थ्य बीमा लागू गरिएको छ । बीमा गराएकाले भद्रपुरस्थित मेची अञ्चल अस्पताल, विर्तामोडस्थित मेची आँखा अस्पताल र जिल्लाका सबै प्राथमिक स्वास्थ्य केन्द्रबाट उपचार सेवा लिन सकिने व्यवस्था छ ।

यस अवधिमा बीमा गराएकामध्ये सबैभन्दा कम १७७ जनाले गौरीगञ्ज गाउँपालिकाको खजुरगाछी स्वास्थ्य केन्द्रबाट उपचार गराएका छन् । दर्ता अधिकारी कँडेलका अनुसार भद्रपुरस्थित मेची अञ्चल अस्पतालबाट ११ हजार ४७१ बिरामीले बीमामार्फत उपचार गराएका छन् ।

बीमितलाई धुलाबारी, शनिश्चरे, बनियानी, सुरुङ्गा, शिवगञ्ज, खजुरगाछीलगायतका स्वास्थ्य सेवा केन्द्र र अस्पतालमा दमक अस्पताल, मेची अञ्चल अस्पताल भद्रपुर, मेची आँखा अस्पताल विर्तामोडबाट उपचार सोवा प्रदान गरिने व्यवस्था गरिएको छ । रासस

प्रकाशित मिति: ५ भाद्र २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्