अन्तरा समूह भारतको मेघालयतर्फ प्रस्थान


 


काठमाडौँ, २१ भदौ

देशभित्र मात्रै नभएर विदेशसमेत लोकप्रियता हासिल गर्न सफल साङ्गीतिक समूह ‘अन्तरा’ परम्परागत तथा मौलिक नेपाली सांस्कृतिक कार्यक्रम लिएर भारतको राज्य मेघालयको राजधानी सिलोङतर्फ प्रस्थान गरेको छ ।

सिलोङको ‘गोरेटो सोसियो–कल्चरल एण्ड वेलफेयर सोसाइटी’ नामक संस्थाको सद्भावपूर्ण निमन्त्रणामा सांस्कृतिक कार्यक्रम लिएर ‘अन्तरा’ त्यसतर्फ प्रस्थान गरेको हो ।

‘गोरेटो’का मूल सचिव रोशन भण्डारीले हिन्दु नारीहरूको महान् चाड हरितालिका तीजको अवसरमा उक्त कार्यक्रम आयोजना गर्न लागिएको जानकारी गराए । कार्यक्रम भदौ २४ गते आयोजना हुनेछ ।

अन्तरा साङ्गीतिक समूह र सांस्कृतिक संस्थानका ३२ जना कलाकारहरूको सहभागिता रहने उक्त सांस्कृतिक कार्यक्रममा नेपालको लिम्बुवान क्षेत्रमा प्रचलित पालाम, माझकिराँत क्षेत्रमा प्रचलित साकेला, तामाङ समुदायको सेलो, मगर समुदायको कौरा, कर्णाली प्रदेशको हुड्केली, नेवारी समुदायको धिमे, पूर्वेली मारुनी, थारु र संगिनीलगायतका ६ गीत र ६ नृत्य प्रस्तुत गरिने टोली प्रमुख सङ्गीतकार प्राज्ञ अशोक लोहोरुङ राईले बताए ।

प्रकाशित मिति: २१ भाद्र २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्