राष्ट्रिय लक्ष्यमा क्रियाशील हुन राष्ट्रपतिको आह्वान



काठमाडौँ, भदौँ २३
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाललाई सन् २०३० सम्ममा मध्यम आय भएको मुलुकको स्तरमा रुपान्तरण गर्ने राष्ट्रिय लक्ष्यमा क्रियाशील हुन आह्वान गर्नुभएको छ ।

३९ औँ राष्ट्रिय शिक्षा दिवस–२०७५ तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा साक्षरता दिवस मूल समारोह समितिद्वारा राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित “नेपाल विद्याभूषण पदक र नेपाल छात्रा विद्या पदक वितरण समारोह” मा राष्ट्रपति भण्डारीले सो कुरा बताउनुभएको हो ।

राष्ट्रपति भण्डारीले भन्नुभयो, “सामाजिक न्यायमा आधारित समतामूलक समाज निर्माण गर्न सबै तहका सरकार समन्वय र सहकार्यको दिशामा अग्रसर बनेका छन्, सन् २०२० सम्ममा नेपाललाई विकासशील राष्ट्रको रुपमा स्तरोन्नति गर्ने, सन् २०२२ सम्ममा अल्पविकशीत राष्ट्रबाट विकासशील राष्ट्रमा अगाडि बढाउने सामूहिक दायित्वलाई पूरा गर्न राज्यका सम्पूर्ण निकाय क्रियाशील हुन हार्दिक आह्वान गर्दछु ।”

राष्ट्रपति भण्डारीले नेपालको संविधानले शिक्षालाई नागरिकको मौलिक अधिकारको रुपमा स्थापित गरेको सन्दर्भमा संवैधानिक प्रावधानलाई मध्ये नजर राखेर आधारभूत शिक्षालाई अनिवार्य र माध्यमिक शिक्षालाई निःशुल्क गर्ने सङ्कल्पलाई पूरा गर्न सबै प्रतिबद्ध हुनुपर्नेमा जोड दिनुभयो । उच्च शिक्षालाई सर्व सुलभ, युग सुहाउँदो र जीवन उपयोगी बनाउँदै बालबालिकालाई उच्चस्तरको राष्ट्रिय भावनाबाट प्रेरित भई समाजप्रति सर्मपित हुने उच्च नैतिकवान र कर्तव्यनिष्ट बनाउने शिक्षा प्रदान गर्न सदा कटिबद्ध हुनुपर्ने राष्ट्रपति भण्डारीको भनाइ छ ।

राष्ट्रपति भण्डारीले देश विकासका लागि आवश्यक पर्ने गुणस्तरीय जनशक्ति तयार पार्न विश्व विद्यालय र शैक्षिक प्रतिष्ठान कटिबद्ध हुनुपर्नेमा जोड दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

 

 

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News