भारत भ्रमण सफल र फलदायी भयो : अध्यक्ष प्रचण्ड



काठमाडौँ, भदौँ २४

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र भारतबीच विगतका भएको सहमति तथा सम्झौता कार्यान्वयन गराउन र दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन आफ्नो भ्रमण सफल भएको बताउनुभएको छ ।

चारदिने भारत भ्रमणबाट आज स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले भन्नुभयो, “विगतमा प्रधानमन्त्रीस्तरमा भएको भ्रमणका क्रममा भएका सहमति तथा सम्झौतालाई व्यावहारिक रूपमा कार्यान्वयन गराउन यस पटकको भ्रमण सफल र फलदायी भएको छ ।” सरकारले गरेको समझदारी कार्यान्वयन गराउन मात्रै आफ्नो भ्रमण केन्द्रित रहेको उल्लेख गर्दै उहाँले विकासनिर्माणका कामलाई प्रभावकारी बनाउन आफू लागिपरेको बताउनुभयो ।

सीमा क्षेत्रमा देखिएका समस्या समाधान गर्ने, नेपालको भौतिक पूर्वाधारमा लगानी बढाउने, ऊर्जा तथा जलस्रोतको क्षेत्रमा लगानी बढाउने लगायत विषयमा भ्रमणमा क्रमममा महत्वपूर्ण छलफल भएको अध्यक्ष दाहालले जानकारी दिनुभयो । यस्तै भ्रमणका क्रममा संविधान कार्यान्वयन तथा सरकारले आत्मसात् गरेको आर्थिक समृद्धिको लक्ष्यलाई साकार बनाउनका लागि भारतको उच्च राजनीतिक नेतृत्वसँग छलफल भएको उहाँको भनाइ थियो ।

विकासनिर्माणका क्रममा आपसी सहयोगलाई वृद्धि गर्दै जाने विषयमा भारतीय नेतृत्वसँग विस्तारमा छलफल भएको उल्लेख गर्दै अध्यक्ष दाहालले भन्नुभयो, “नेपालको समृद्धि र विकासका मुद्दालाई केन्द्रमा राखेर राजनीतिक नेतृत्व र बुद्धिजीवीसँग छलफल भयो । यसले मलाई उत्साहित बनाएको छ ।” दुई तिहाइ प्राप्त सरकारको पक्षमा वातावरण बनाउन आफू भारत भ्रमणमा गएको स्पष्ट पार्दै अध्यक्ष दाहालले भन्नुभयो, “नेपाली जनताको चाहनाजस्तै भारत सरकार र भारतीय जनताको चाहना पनि नेपाल स्थिर र आर्थिक रूपमा सबल बनोस् भन्ने रहेको मैले पाएँ ।”

यस्तै भूकम्पपछिको पुनःनिर्माण, हुलाकी राजमार्गको निर्माण, पछिल्ला दिनमा भएका महत्वपूर्ण सहमति तथा सम्झौता कार्यान्वयनका विषयमा केन्द्रित रहेर सहयोग उपलब्ध गराउन आफूले भारतीय नेतृत्वसँग आग्रह गरेको अध्यक्ष दाहालले जानकारी दिनुभयो । उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा भएका सहमति र समझदारीको सुदृढ कार्यान्वयनको वातावरण निर्माण गर्न आफ्नो भ्रमणको मुख्य उद्देश्य रहेको र त्यसमा आफू सफल भएको बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

 

 

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News